किशोर–किशोरीमा यौन शिक्षाको आवश्यकताः ‘अमला काण्ड’ पाठ कि मजाक? - Crazysaptahik.com

किशोर–किशोरीमा यौन शिक्षाको आवश्यकताः ‘अमला काण्ड’ पाठ कि मजाक?


ईश्वर दुलाल
मोरङ।
हालै सामाजिक सञ्जालमा भाइरल बनेको ‘अमला काण्ड’ घटनाले नेपाली समाजमा यौन शिक्षा र सामाजिक चेतनाको गम्भीर अभावलाई उजागर गरेको देख्न सकिन्छ । घटनाको सत्यता नबुझी अनेक प्रकारका गलत प्रचार गरिएको छ, जसले यौन हिंसा तथा लैङ्गिक असमानतालाई झनै बल पुगेको बुझन सकिन्छ ।

घटनापछि महिलाहरूलाई लक्षित गर्दै अप्रिय टिप्पणीहरू गर्ने प्रवृत्ति समेत हावी भएको छ । बिमला (नाम परिवर्तन) का अनुसार, उनका केही चिनजानका व्यक्तिहरू ‘अमला काण्ड’ को नाम जोडेर घुमाउरो यौन संवाद गर्ने गर्छन्, जसले उनलाई असहज महसुस गराएको सुनाईन्् । अर्की पीडित कमला (नाम परिवर्तन) ले अफिसमै समेत यस्तै प्रकारका टिप्पणी सुन्नुपरेको बताइन् । शिक्षित वर्गबीच नै यौन हिंसा र लैङ्गिक चेतनाको कमी रहेको उनको बुझाइ छ ।

घटना झापाको एक गाउँमा घटेको हो, जहाँ २१ वर्षीया मानसिक रूपमा अस्वस्थ युवतीले बच्चा जन्माएपछि गाउँभर हंगामा मच्चिएको थियो । युवतीले बच्चाको पितृत्व गाउँकै ७९ वर्षीय वृद्धलाई आरोप लगाइन् । वृद्धले भने आफू ५० वर्षअघि नै परिवार नियोजन गरिसकेको दाबी गरेका छन् ।

यो घटनालाई लिएर समाज तथा सामाजिक संजालमा फरक–फरक प्रतिक्रियाहरु आएका छन् । केहीले युवतीलाई न्याय दिलाउन आवाज उठाएका छन् भने धेरैले यसलाई मजाकका रूपमा लिएका छन् । सामाजिक सञ्जालमा मिम, ट्रोल र व्यंग्य पोस्टहरू व्यापक छन्, जसले घटनाको संवेदनशीलता ओझेलमा परेको छ ।

समाजमा यौन शिक्षाको अभाव र दृष्टिकोण
नेपालमा यौन शिक्षा अझै पनि खुला रूपमा छलफल गरिने वा पढाइने विषय होइन । विद्यालय स्तरमा स्वास्थ्य शिक्षामा सीमित रूपमा यौन शिक्षा समावेश गरिए पनि व्यवहारमा यो विषयलाई लाज वा अप्ठ्यारो मानिन्छ । अभिभावकहरू आफ्ना सन्तानसँग यौन शिक्षाका बारेमा कुरा गर्न हिच्किचाउँछन्, जसले गर्दा किशोर–किशोरीहरू गलत माध्यमबाट जानकारी लिन बाध्य छन् । जसले अवाञ्छित गर्भधारण, यौनजन्य रोग तथा मानसिक तनावको जोखिम बढाएको छ ।

विशेषज्ञहरुका अनुसार, यौन शिक्षाले किशोर–किशोरीलाई शारीरिक परिवर्तन, प्रजनन प्रणाली, सुरक्षित यौन व्यवहार तथा सहमतिको महत्त्वबारे जानकारी दिन मध्यत पुग्दछ । नेपालका विभिन्न विद्यालय तथा सामाजिक संस्थाहरूले यस विषयमा सचेतना कार्यक्रम सञ्चालन गरे पनि अझै जनमानसमा चेतनाको अभाव रहेको छ, विशेष गरी ग्रामीण क्षेत्रमा यस किसिमका जोखिम बढ्दो छ ।

स्वास्थ्य विशेषज्ञहरु भन्छन्, “किशोर–किशोरीलाई सही समयमा सही जानकारी दिन सके अनावश्यक डर, हिच्किचाहट र गलत धारणा हटाउन सकिन्छ ।” उनिहरुका अनुसार, विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) ले समेत किशोरावस्थामै यौन शिक्षालाई अनिवार्य बनाउन सिफारिस गरेको छ ।

नेपालमा इन्टरनेटको पहुँच बढेसँगै किशोर–किशोरीहरू विभिन्न स्रोतबाट यौनसम्बन्धी जानकारी लिने प्रयास गर्छन् । तर, सबै स्रोतहरू विश्वासिलो हुँदैनन् । गलत जानकारीका कारण यौन हिंसा, दुव्र्यवहार, र असुरक्षित यौन सम्बन्धको जोखिम बढ्न सक्छ ।

समाजमा यौन शिक्षालाई वर्जित विषय मान्ने मानसिकता परिवर्तन आवश्यक रहेको छ । किशोर–किशोरीमा यौन शिक्षा आवश्यक मात्र होइन, अनिवार्य पनि छ । समयमै सही जानकारी पाए उनीहरू जिम्मेवार नागरिक बन्न सक्छन् । समाजले यौन शिक्षालाई खुला रूपमा स्वीकार गरी किशोर–किशोरीलाई सुरक्षित, स्वस्थ र सचेत बनाउने दिशामा अघि बढउन सके अमला काण्ड जस्ता अन्य घटनाहरु समाजमा हुन सक्दैन ।

सम्बन्धित खवर