क्रेजी संवाददाता
काठमाडौं। ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण विवादमा आन्दोलनरत पक्ष र गृहमन्त्री रमेश लेखकबीच भोलि वार्ता हुने भएको छ ।
नेकपा एमालेका सांसद योगेश भट्टराईका अनुसार वार्ता सोमबार साँझ ६ बजे गृहमन्त्रालयमा हुनेछ । उनले आइतबार आन्दोलनरत पक्षसँग संवाद गरेको जानकारी पनि दिएका छन् ।
‘आज बिहान १० देखि अपराह्न १२ बजेसम्म आन्दोलनरत पक्षका प्रतिनिधिहरूसँग सौहार्दपूर्ण संवाद गरियो । उहाँहरूका कुरा सुनेँ, मेरा कुरा भनेँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । भट्टराईले वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
आन्दोलनरत पक्षले गृहमन्त्रीसँग भेट्न चाहेको अनुरोध गरेपछि भट्टराईले समन्वय गरेका थिए । ‘गृहमन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेट्ने समय दिनुभएको छ,’ उनले लेखेका छन् ।
यसअघि, सरकार र आन्दोलनरत पक्षबीच आज तय भएको वार्ता भाँडिएको थियो । आन्दोलनरत पक्षले मन्त्रीस्तरीय वा उच्च राजनीतिक संयन्त्रसँग मात्र वार्ता गर्ने अडान राख्दै छलफलबाट बाहिरिएका थिए ।
माघ २५ गते दुबै पक्षबीच विस्तृत बैठक बस्ने सहमतिसहित ६ बुँदे सहमति भएको थियो । आन्दोलनरत पक्षले सरकारसँग माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।