सेवा अवधि बाँकी छँदै एआईजी रवीन्द्र केसीले किन दिए राजीनामा - Crazysaptahik.com

सेवा अवधि बाँकी छँदै एआईजी रवीन्द्र केसीले किन दिए राजीनामा


क्रेजी संवाददाता
काठमाण्डौं।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । आगामी ५ चैतसम्म सेवा अवधि रहेका उनले करिब ४० दिन अगावै राजीनामापत्र बुझाएका हुन् ।

प्रहरी हेडक्वार्टर स्रोतका अनुसार केसीले राजीनामापत्र बुझाइसकेका छन्, जसलाई आगामी मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ । मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि उनले अवकाश पाउनेछन् ।

केसी प्रहरी हेडक्वार्टरकै प्रदेश समन्वय विभागमा कार्यरत थिए । उनलाई २६ पुसमा मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो, तर बढुवा भएको एक महिनामै उनले राजीनामा दिएका छन् ।

उच्च स्रोतका अनुसार केसीले राजीनामा दिनुको मुख्य कारण अर्का व्यक्तिलाई एआईजी बनाउनु हो । “एआईजी बढुवा हुने बेलामै राजीनामा दिने सर्तमा उनलाई बढुवा गरिएको थियो,” स्रोतले बताएको छ ।

यदि केसीले पूरा अवधि एआईजीमा बिताएका भए, डीआईजी जनक भट्टराईको एआईजीमा बढुवा हुने सम्भावना नरहने थियो । दुबै जनालाई एआईजी बनाउने योजना अनुरूप केसीलाई राजीनामा दिन लगाइएको स्रोतको दाबी छ ।

भट्टराई हाल कर्णाली प्रदेश प्रमुखका रूपमा कार्यरत छन् । उनी पनि आगामी ५ चैतमा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् ।

नेपाल प्रहरीमा सेवा अवधि बाँकी छँदै राजीनामा दिने चलन यसअघि थिएन । तर निजामती सेवामा भने यस्तो चलन पहिले देखिनै थियो, जसमा राजीनामा दिएर अर्को व्यक्तिलाई बढुवाको अवसर दिने वा अन्यत्र नियुक्ति लिने गरिन्थ्यो ।

यसपटक प्रहरी संगठनमा पनि यो प्रवृत्तिको सुरुवात भएको देखिएको छ । राजीनामाको कारणबारे प्रतिक्रिया लिन खोज्दा केसीसँग भने सम्पर्क हुन सकेन ।

सम्बन्धित खवर