क्रेजी संवाददाता
पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं. २ देविगञ्जस्थित चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ ।
आज विद्यालयका संस्थापक विरेन्द्र कुमार लिम्बुको अध्यक्षमा भएको वार्षिकोत्सव समारोहको उद्घाटन पथरी शनिश्चरे वडा नं. २ का वडाध्यक्ष नैना राईले गर्नुभयो । प्रमुख अतिथि राईले उद्घाटन पश्चात् औपचारिक शिक्षा मात्रै रोजगारीको लागि पर्याप्त नहुने उल्लेख गर्नुहुँदै ‘एक विद्यालय, एक सीप’ अभियानलाई नगरपालिका स्तरमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो । विद्यार्थीहरूलाई व्यवसायिक रूपमा सक्षम बनाउने उद्देश्यले शिक्षासँगै सीप सिक्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
यसैगरी कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज न्यौपानेले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसैगरी सो भव्य कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूद्वारा नाटक, आकर्षक तथा साँस्कृतिक नृत्य, गायनहरु प्रस्तुत गरिएको थियो । यसैगरी विद्यालयका शिक्षक, शिक्षिकाहरूले प्रस्तुत गरेको नृत्यले अभिभावक तथा उपस्थित विद्यार्थीहरूले तालीको पर्रा फुटाउन बाध्य भएका देखिन्थे । विद्यालयले अभिभावक तथा विद्यार्थीहरूका लागि विभिन्न रमाइला खेलहरू पनि आयोजना गरेको थियो । सो खेलकूदमा विजेताहरुलाई अभिभावक संघका अध्यक्ष नवराज न्यौपाने र अभिभावक संघका सदस्यहरु लोकबहादुर तामाङ, निरु अधिकारी, सिता पुरी, उपाध्यक्ष सुमित्रा ढकालले पुरस्कार वितरण गर्नुभएको थियो ।
विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न तथा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार वितरण गरेको थियो ।
सो कार्यक्रमको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । यस वर्ष उत्कृष्ट शिक्षकका रुपमा शिक्षिका म्यारी पुलामीलाई दोसल्ला ओढाई सम्मान गरिएको हो । औपचारिक कार्यक्रम विद्यालयका प्रिन्सिपल गजेन्द्र सुब्बाले सञ्चालन गर्नुभएको थियो । विद्यालयका सम्पूर्ण कर्मचारीहरुलाई विद्यालयका संस्थापक विरेन्द्र कुमार लिम्बुले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
चिनारीले अध्ययनका अलवा अन्य अतिरिक्त क्रियाकलापहरुमा पनि निक्कै राम्रो प्रस्तुति दिदै आइरहेको छ भने हरेक वर्ष भव्य रुपमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै आइरहेको छ ।