हाईल्याण्ड अंग्रेजी बोर्डिङ स्कुलको १४ औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न - Crazysaptahik.com

हाईल्याण्ड अंग्रेजी बोर्डिङ स्कुलको १४ औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

क्रेजी संवाददाता
पथरी।
पथरीशनिश्चरे–०८, मिलनचोकमा रहेको हाईल्याण्ड अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १४ औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन पथरी शनिश्चरे नगरपालिका उपप्रमुख देविमाया काफ्लेले गर्नुभयो । प्रमुख अतिथि काफ्लेले विद्यालयलाई शुभकाना दिदै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा समेत सक्रिय बनाइरहेकोमा प्रशंसा गर्दै भन्नुभयो, “विद्यालय भनेको केवल किताबी ज्ञान दिने ठाउँ मात्र होइन, व्यक्तित्व विकासको गतिलो आधारशिला हो । अतिरिक्त क्रियाकलापहरूले बालबालिकाको सिर्जनात्मकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यस विद्यालयले शैक्षिक क्षेत्रमा मात्र होइन, सांस्कृतिक र अनुशासनको क्षेत्रमा पनि राम्रो प्रभाव छोड्दै आइरहेको छ ।“

वार्षिकोत्सव समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू, पुरस्कार वितरण तथा साहित्यिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए । विद्यार्थीहरूले “डाफे झैँ नाच्ने, हिमाल झैँ हास्ने नेपालकी छोरी हुँ म“, “दायाँ हातमा किताब“, “कसमिरे पछ्यैरी“, “रुमुमैकोट“, “गुराँस फुल्दा“, “ताली बजाउ“ जस्ता चर्चित गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै, शिक्षक–शिक्षिकाहरूको सामूहिक नृत्यले अभिभावक तथा उपस्थित अतिथिहरूको ध्यान खिचेको थियो ।

विद्यालयले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरू तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुनेहरूलाई क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई पुरस्कार वितरण गरेको थियो ।

कार्यक्रममा विशेष अतिथिका रूपमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहन बिक्रम दाहाल उपस्थित हुनुहुन्थ्यो । शुभकामना मन्तव्य राख्दै उहाँले बालबालिकामा मोबाइलको लतबारे चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हालका दिनमा बालबालिकामा मोबाइलको प्रयोग अत्यधिक बढ्दो छ । डिजिटल माध्यम आवश्यक भए पनि यसको असन्तुलित प्रयोगले उनीहरूको मानसिक विकासमा नकारात्मक असर पारिरहेको छ । मोबाइलको अत्यधिक प्रयोगले विद्यार्थीहरूको एकाग्रता घट्ने, अध्ययनमा ध्यान कम हुने र सामाजिक सम्बन्ध कमजोर बन्ने समस्या देखिएको छ । त्यसैले अभिभावक तथा विद्यालय प्रशासनले यो विषयमा विशेष ध्यान दिन आवश्यक रहेको छ ।“

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष नविन कार्की, सशस्त्र प्रहरी बल शनिश्चरेका प्रमुख इन्स्पेक्टर हेमराज प्याकुरेल, जयबहादुर तामाङ, खगेन्द्रप्रसाद लिम्बु लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

विद्यालयका अध्यक्ष बाबुराम दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम भव्य रूपमा सफल भएको थियो । कार्यक्रमको अन्त्यमा विद्यालयका प्रिन्सिपल भोगेन्द्र बस्नेतले सम्पूर्ण सहभागी, अभिभावक, विद्यार्थी र अतिथिहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खवर