
क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–२ देवीगन्जमा स्थापित चिनारी अंग्रेजी बोर्डिङ स्कुलले १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ सम्पन्न गरेको छ ।

शुक्रबार विद्यालयले विविध साँस्कृतिक प्रस्तुति, खेलकुद प्रतियोगिताको सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका साथ भव्य रूपमा आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
चिनारीले विद्यालयका संस्थापक सोमनाथ नेपालको अध्यक्षता तथा वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बुको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको हो ।
यसैगरी कार्यक्रममा विशिष्ट अतिथिमा संस्थापक विरेन्द्रकुमार साम्बा, थिर प्रसाद आचार्य, प्रधानाध्यापक गजेन्द्र सुब्बा, उप–प्रधानाध्यापक मदन खत्री, अभिभावक संघका अध्यक्ष लक्षबहादुर तामाङ, उपाध्यक्ष सम्झना राई, सदस्यहरू तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

विद्यार्थीहरूले नृत्य, गायन, अभिनय र भाषण मार्फत् आफ्नो प्रतिभा प्रस्फुटन गर्दा उपस्थित अभिभावकहरुले भरपूर मनोरञ्जन प्राप्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो । चिनारीले हरेक वर्ष वार्षिकोत्सव तथ अभिभावक दिवस धुमधामका साथ मनाउँदै आएको छ ।


