प्रेमप्रसाद भटराई (के.डी)
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित कन्तुर बहुउद्देश्यीय सरहकारी संस्थाको १७ औँ स्थापना दिवस सोमबार विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ । १५ सय जना शेयर सदस्य रहेको सो सहकारी संस्थाको स्थापना दिवस पथरीशनिश्चरेको मन्दिरलाइनमा अवस्थित नर्वदेश्वर शिवालय मन्दिरको प्राङ्गणमा भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रसाद लिम्वुले सभाध्यक्षता गरेका थिए भने जेष्ठ शेयर सदस्य नेत्रबहादुर विश्टको प्रमुख आतिथ्यता रहेको थियो ।
सभाध्यक्ष तथा प्रमुख अतिथिवाट दिप प्रज्वलन गरी उद्घाटन गरिएको सो कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष तुलसा चापागाईले राखेकी थिइन् । स्थापना दिवसको अवसरमा संस्थाले जेष्ठ सदस्यलाई नगद सहित सम्मान तथा विभिन्न खेलकुद कार्यक्रम समेत गरेको थियो । जसमा म्युजिकल चेयरतर्फ प्रथम देवी राई प्रथम, इन्दिरा पराजुली द्वितीय, बन्दना कट्टेल तृतीय भएकी थिइन भने अर्को खेल तातो आलुतर्फ लक्ष्मीराज भण्डारी प्रथम गीता खड्का द्वीतीय र शुशिला राजभण्डारीले तृतीय स्थान ल्याएका थिए । त्यस्तै छेलोतर्फ क्रमशः दिपक विष्ट, भेषराज प्रधान र खगेन्द्र विश्वकर्माले तृतीय स्थान ल्याएका थिए भने हण्डी फुटाईतर्फ टिकामाया अधिकारी विजेता बनेकी थिइन् ।
कार्यक्रमका विजेतालाई ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । संस्थाले उत्कृष्ट वचत कारोबार गर्ने सदस्य सहरमान राई र राधिका राई, उत्कृष्ट क्रृण कारोबार गर्ने धिरजकुमार प्रधान र गीताकुमारी खड्का, उत्कृष्ट सदस्य विस्तार पुरस्कार मिरा कार्की र पार्वता खतिवडा (दाहाल) लाई पनि पुरस्कृत गरिएको थियो । त्यस्तै नगरमै रहेको पञ्चायत उ.मा.वि तथा दुर्गा मा.वि.का विद्यार्थीहरुलाई विद्यालय पोशाक सहित शैक्षिक सामग्री वितरण समेत गरेको थियो । यस्तै आ.ब.२०७४र७५ मा संस्थाको तर्फवाट रत्तदान गर्ने ८ जना शेयर सदस्यहरुलाई पनि प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार तुलसीराम ढकाल लगायतले मन्तव्य राखेका थिए ।