सिरिजंगा वनमा विधान विपरित समिति घोषणा भएको आरोप - Crazysaptahik.com

सिरिजंगा वनमा विधान विपरित समिति घोषणा भएको आरोप

मुद्दा दर्ताको प्रक्रियामा अघि बढ्ने – लिबाङ

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित सिरिजंगा स्मृति धार्मिक वन नेतृत्व चयन लगायतको बिषयलाई लिएर विवाद भएको छ । सो वनको माघ २१ गते तेस्रो साधारणसभाको खुल्ला कार्यक्रम भएको थियो । बन्द सत्र दुई उपाध्यक्षको लागि छ जनाको मनोनयन परेसँगै विवाद सुरु भएको थियो । सो दिन कसैले दाबी नछाडेपछि माघ २५ गते निर्वाचन तोकिएको थियो । सो दिन उपाध्यक्ष मनोनयन भएकैहरु मध्येबाट अवरोध भएपछि निर्वाचन रोकिएको थियो ।

धेरै छलफल र निर्वाचनको प्रयास भएपनि नेतृत्व चयन हुन सकेको थिएन । बुधबार निर्वाचन समितिको संयोजक लोकसागर साम्बाले ३ जना उपाध्यक्ष सहित २२ जनाको समिति घोषणा गरेपछि विवाद झनै चर्किएको हो । उपाध्यक्ष गोविन्द वनेम, टंक लिम्बु र सन्तोष सेरेङ लिम्बु चयन भएका छन् । उपाध्यक्षको उम्मेद्वार मनोनयन गर्ने मध्येका टेकिन्द्र लिभाङ लिम्बुले घोषित समिति विधान विपरित भएकोले आम उपभोक्ता समितिको माग अनुसार अर्को समिति गठन गर्ने बताएका छन् ।

विहिबार पत्रकार सम्मेलनको आयोजना गरी विधान सुरुमा विधानमा दुई उपाध्यक्ष मध्ये एक महिला हुनु पर्ने उल्लेख भएपनि पनि ३ जना बनाइएको र महिला उपाध्यक्ष कोटामा सन्तोष सेरेङ लिम्बुलाई उपाध्यक्ष बनाएको टेकिन्द्र लिभाङ लिम्बुले जानकारी गराए । साधारणसभाले दुई उपाध्यक्ष पास गरेपनि सो विधान विपरित तीन बनाएको र महिलाको कोटामा पुरुष नै बनाएको टेकिन्द्रले बताए । निर्वाचन समितिको प्रक्रिया अनुसार छ जना उपाध्यक्ष मध्ये आफूले पनि उमेद्वारी मनोनयन गरेको तर निर्वाचन नगराई तीन जनालाई मनोमानी ढंगबाट नाम घोषणा गरेको लिभाङको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

लिभाङले वन समितिको विधान र कानून विपरित आफूखुशी अवैध समिति गठन गरेकोमा जिल्ला अदालत, पथरीशनिश्चरे नगरपालिका र वन कार्यालयमा मुद्दा लगाउने बताए । अवैध समितिलाई खारेज गरेर आम उपभोक्ता समितिको सहमतिमा तदर्थ समिति गठन गरेर वन संरक्षण गर्ने लिभाङले बताए । पत्रकार सम्मेलनमा उपभोक्ता केबी लिम्बु, नव समितिको सदस्य रोशन थक्लङ लिम्बु लगायतको उपस्थिति थियो । सम्मेलनमा उपस्थित उपेन्द्र लिम्बुले नगरमा ७ हजार भन्दा बढी लिम्बु समुदाय भए पनि १ सय ६५ जनाको मात्र उपभोक्ता बनाउँदा पनि मनोमानी गरिएको बताए ।

यस विषयमा निर्वाचन समितिका संयोजक लोकसागर साम्बासंग बुझ्दा उनले भने–‘हामीले प्रक्रियागत रुपमा माघ २१ गते साधारणसभा गरेका हौं । उपाध्यक्ष बाहेक अन्य सबै पदमा निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षका लागि जो जो उम्मेद्वारी थिए उहाँहरु आफैं सहमति गरेर आउंछौं भन्नुभएको थियो । समय सिमा नाघिसक्दा पनि उहाँहरु सहमति गरेर आउनुभएन त्यसपछि जो जो उपस्थित हुनुहुन्थ्यो उहाँहरु नै समितिमा आउनुभयो ।’

सम्बन्धित खवर