घुस लिएर प्रहरीले नै पीडितलाई हाने थप्पड - Crazysaptahik.com

घुस लिएर प्रहरीले नै पीडितलाई हाने थप्पड

इलाका प्रहरी कार्यालय पथरी

क्रेजी साप्ताहिक
पथरी । प्रहरीले ५ हजार घुस लिएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि सूचना खुलासा गर्नेलाई बोलाएर इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीकै सामुन्ने कुटपिट गरेको पीडितले बताएको छ ।

घरायसी झगडाको विषयमा गत फागुन ११ गते पथरीशनिश्चरे–३ सृजना टोलका जोग बहादुर राईलाई प्रहरीले पक्राउ गरेको थियो । राई पक्राउ परेको भोलिपल्ट छुटेका थिए । छुट्ने क्रममा ५ हजार रुपैयाँ घुस प्रहरीले लिएको विषयमा विभिन्न अनलाइनहरुमा समाचार आएको थियो ।

समाचार आएपछि डीएसपी दिलिपकुमार गिरीको निर्देशनमा विहिबार (फागुन २९) गते राईलाई प्रहरीले पुनः इलाका प्रहरी कार्यालयमा ल्याएका थिए । इलाका ल्याएर धम्कीपूर्ण भाषामा प्रस्नहरु गर्नेक्रममा आफूलाई तीन झापड दुई लात्ती हानेको पीडित राईले बताए । उनले भने–‘एक्कासि एक जना प्रहरी जवान आए अनि हावादारी कुरा गर्छस्, ढाड्छस भन्दै कुटपिट गरे’ । यद्यपि ५ हजार रुपैयाँ आफूबाट प्रहरीले लिएको कुरा डीएसपी गिरीलाई बताएको राई जानकारी दिए ।

यस विषयमा डीएसपी गिरीसँग प्रश्न गर्दा उनले भने –‘प्रहरीले पैसा लिएको समाचार आएपछि ४ घन्टा लगाएर सीसीटीभी फुटेज हेरेँ कसैले पैसा लिएको देखिएन ।’ राईलाई ल्याएर सोध्ने क्रममा राईले घरी भित्र र घरी बाहिर पैसा दिएको दोधारे कुरा गरेको डिएसपी गिरीको भनाइ छ । प्रहरीको मनोबल गिराउन समाचार लेखिएको गिरीको बुझाइ छ ।

डीएसपी दिलिप कुमार गिरी पथरी आएपछि शान्ति सुरक्षा, चोरी नियन्त्रण भन्दा बढी मापासे चेकजाँचको नाममा ‘दादागिरी’को रुपमा प्रस्तुत हुन थालेको स्थानीयवासीको आरोप छ ।

सम्बन्धित खवर