क्रेजी साप्ताहिक काठमाडौं । ललितपुरको बागमती गाउँपालिका ३ नम्बर वडा कार्यालयले तिनपाने–तामाखानी सडकखण्डमा सवारी साधन चल्न नदिने घोषणा गरेको छ ।
चापागाउँ प्रहरीले जनप्रतिनिधिहरुलाई दुर्वयवहार गरेको भन्दै वडा कार्यालयले आफ्नो लेटर प्याडमा विज्ञप्ति नै जारी गरी कान्तिलोकपथ खण्डमा चक्काजामको घोषणा गरेको हो । वडाअध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएअनुसार चैत ६ गतेदेखि तिनपाने–तामाखानी सडकखण्ड अनिश्चितकालीन बन्द हुने छ ।
बन्दको बेला दूध तथा तरकारी बोक्ने गाडी, एम्बुलेन्स र अतिआवश्यक सवारी साधनहरुलाई रोक नलगाइने विज्ञप्तिमा उल्लेख छ । वडा अध्यक्ष तिमल्सिनाका अनुसार यही चैत चार गते भट्टेडाँडाको छपेलीमा स्थानीयबीच झगडा भएको थियो । झगडा मिलाउन दुवै पक्ष बसेको बेला प्रहरी वृत्त चापागाउँका इन्सपेक्टर राजन लम्साल नेतृत्वको समूहले वडा अध्यक्ष र सदस्यहरुलाई लछारपछार गरेकाले त्यसको विरोधमा बन्द गरेको तिमल्सिनाले बताए ।
उनले भने, ‘हामीमाथि सीडीओले पक्राउ गरेर ल्याउने आदेश दिनु भएको छ भन्दै प्रहरीले गोली समेत ताकेर ज्यादतीपूर्ण व्यवहार गरे ।’ उनले यो घटनाको छानबिन गरी इन्सपेक्टर लम्साललगायतका प्रहरीहरुलाई कारबाही गर्नुपर्ने माग गरे ।