१७ वर्षीया किशोरीमाथि ट्रकभित्रै सामूहिक बलात्कार गर्ने पक्राउ - Crazysaptahik.com

१७ वर्षीया किशोरीमाथि ट्रकभित्रै सामूहिक बलात्कार गर्ने पक्राउ


क्रेजी साप्ताहिक
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्रलगेर ती किशोरीमाथि तीन जना युवाले सामूहिक बलात्कार गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

मंगलबार बिहान २ बजे भएको उक्त घटनामा संलग्‍न ३ जनालाई नै प्रहरीले पक्राउ गरेको छ । सामूहिक बलात्कार आरोपमा पक्राउ परेकाहरुमा राप्ती गाउँपालिका १ दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका ९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका २ रामेछापका १९ वर्षीया कपिल खड्का छन् । उनीहरु विभिन्‍न ट्रकका सहचालक रहेको खुलेको छ ।

बलात्कारमा परेकी किशोरीलाई प्रहरीले माइती नेपालको जिम्मा लगाएको छ । आरोपितलाई प्रहरी वृत थानकोटको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए । घरायसी कामको सिलसिलामा धादिङबाट काठमाडौं आएकी ती किशोरी सोमबार दिउँसो फर्कने क्रममा थिइन् । त्यही बेला तीनथानास्थित भेटिएका तीन जना युवाहरुले आफूहरु धादिङ जाने र सित्तैमा धादिङ पुर्‍याइदिने भन्दै किशोरीलाई पर्खाएका थिए ।

धेरै अबेर भएपछि आफू आत्तिएर कसैलाई सहयोग मागेको तर सुनसान भएका कारण कसैले नसनेको किशोरीले प्रहरीलाई बताएकी छन् । पछि उनीहरु तीनै जनाले आफूलाई समाएर ट्रकभित्र लगी जबर्जस्ती बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । डीएसपी श्रेष्ठका अनुसार घटना घटाएर तीनजना भागेको अवस्थामा पीडित किशोरीलाई प्रहरीको गस्ती टोलीले ट्रकको पछाडि फेला पारेको थियो। त्यसपछि प्रारम्भिक अनुसन्धानपछि किशोरीलाई संरक्षणका लागि माइती नेपाल पठाएको बताए । कान्तिपुरबाट ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.