
क्रेजी साप्ताहिक काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई सातासम्मका लागि बन्द हुने भएका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता शुक्रबार बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालत स्रोतले जनाएको छ । सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि जोखिम मोल्न नचाहेको हो । यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।
त्यस्तै कोरोना भाइरसको संक्रमणलाई नै लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच पनि स्थगित गरेको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले मापसे जाँच रोकिएको जानकारी दिए । यद्यपि, अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने उनले जनाए ।
‘पहिले जस्तो मेसिन लगाएर चेक गर्दैनौं । तर, लरबराउँदै कोही आउँछ भने त्यस्ता व्यक्तिलाई अस्पताल लगेर परीक्षण गराउँछौं । र, आफन्तको जिम्मा लगाउँछौं’, ढकालले भने । ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।

