अस्पताल भर्ना कतारबाट फर्किएका तीन युवालाई ज्वरो आएपछि - Crazysaptahik.com

अस्पताल भर्ना कतारबाट फर्किएका तीन युवालाई ज्वरो आएपछि

 


कतार एयरवेजबाट काठमाडौं फर्केकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि त्यसको त्रास अन्यत्र फैलिरहेको छ । पर्सामा कतारबाटै फर्केका तीन जना युवकमा ज्वरो आएपछि अस्पतालमा पुगेका छन् । कतारबाट सखुवाप्रसौनी गाउँपालिका वडा न ४ देउरवानाका तीन जना नारायणी अस्पतालमा पुगेका हुन् ।

गत चैत ४ र ५ गते कतारबाट घर फर्किएका ४५ बर्षका, ३२ बर्षका र २२ बर्षका पुरुषमा ज्वरो देखिएको हो । लक डाउनको दिन मंगलबार मोटरसाइकलमा अस्पताल आउन लागेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र वडा कार्यालयले एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा पठाएको छ ।

उनीहरुलाई भेट्न बाराबाट आएका ज्वाईलाई पनि अस्पताल पठाइएको वडा अध्यक्ष जुमान मियाले जानकारी दिए । ‘स्वास्थ्य चौकीमा चेकजाँच गर्दा कतारबाट आएका तीन जनामा ज्वरो देखियो, उनीहरु चैत ४ गते र ५ गते कतारबाट फर्केका रहेछन्’ उनले भने ‘इलाका प्रहरी कार्यालयसँग समन्वय गरेर उनीहरुलाई नारायणी अस्पताल पठाएका छौं ।’

कोरोना भाइरस संक्रमणको आशंकामा गाउँबासी आतंकित रहेको उनले बताए । कतारबाट फर्केर नारायणी अस्पतालमा आएकाहरुमा सामान्य ज्वरो देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । ‘उहाँहरुमा सामान्य ज्वरो छ, कोरोनासँग सम्बन्धित अन्य लक्षणहरु देखिएको छैन’ उनले भने ‘उहाँहरुको यात्राको वृृत्तान्त (ट्राभल हिस्ट्री) नबुझी के गर्ने भन्ने निर्णय गर्न गाह्रो छ ।’
–अनलाइनखबरबाट

 

सम्बन्धित खवर