
क्रेजी साप्ताहिक
पथरी । कोरोना भाइरसबाट बच्ने सचेतनाका साथ मोरङको पथरीशनिश्चरेमा अत्यावश्यक खाद्यान्न पसल विहान र बेलुका निश्चित समयमा खोल्न आव्हान गरिएको छ ।
पथरीशनिश्चरे नगरपालिकाको कार्यालय, पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय पथरीले आज संयुक्त सूचना जारी गर्दै विहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक खाद्यान्न र सब्जी पसल खोल्ने समय निर्धारण गरेको छ । सोही अनुसार आज माइकिङ थालिएको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले जानकारी दिए ।
अत्यावश्यकीय सामान खरिद गर्दा कम्तिमा २ मिटरको दुरीमा रहेर घरको १ जनामात्र सहभागि हुनुपर्ने कुरा सूचनामा उल्लेख गरिएको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सवैले घरभित्र बसेर सहयोग पुर्याउन समेत अनुरोध गरिएको छ ।
यसक्रममा, नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय पथरीले दैनिक अनुगमन् गर्दै अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किन, खाद्यान्नको सहज उपलब्धताको अनुगमन् गरिरहेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले बताइन् ।
यसैगरी अत्यावश्यक पर्ने बैंकिङ सेवा समेत सुरक्षित रुपमा २ घण्टा सञ्चालनको आवश्यकता महसुस गर्दै पथरीमा रहेको एनएमबी, कामना बैंक सहित आज २ घण्टा खुला गरिएको छ । नगरका खाद्यान्नका केही पसल र सब्जी पसलहरु सञ्चालनमा छन् ।

