भब्य समारोहका बिच पञ्चायतको बार्षिकोत्सब तथा विज्ञान प्रदर्शनी उद्घाटन - Crazysaptahik.com

भब्य समारोहका बिच पञ्चायतको बार्षिकोत्सब तथा विज्ञान प्रदर्शनी उद्घाटन


प्रेमप्रसाद भट्टराई (के.डी)
पथरी । सामुदायिक विद्यालयहरुमध्ये प्रदेश नं १ कै उत्कृष्ट ठहरीएको पञ्चायत उच्च माध्यमिक विद्यालयको ४० औँ वार्षिकोत्सव अभिभावक दिवस वृहत विज्ञान प्रदर्शनी कार्यक्रमको समुद्घाटन कार्यक्रम आज एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ ।

विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष आइतकुमारी तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको विशिष्ट अतिथिहरुमा संविधानसभा सदस्य चण्डीप्रसाद राई , पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विश्ट(बास्तोला) लगायत रहेका थिए । प्रमुख अतिथि मन्त्री घिमिरेले विद्यार्थीहरुले स्थानिय सामग्रीहरुको प्रयोग गरि बनाएको रोर्बोटले रिबन काटी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले पञ्चायत माविले विज्ञान, इन्जिनियरीङ लगायतका विषयमा यतिका प्रगति गर्दा पनि अभिभावकहरुले सामुदायिक विद्यालयप्रतिको नकारात्मक दृष्टिकोण हुनाले सामुदायिक विद्यालयमा विद्यार्थिहरु घट्दै गएकोमा दुख ब्यक्त गरे । कार्यक्रममा बोल्दै उनले भने ‘पञ्चायत मा.विले यतिका प्रगती गर्दा अझै पनि अभिभावकहरुको रोजाईमा निजी विद्यालयहरु नै पर्ने गरेका छन् । यसले गर्दा शिक्षामा मात्र नभइ नेपाली भाषामा नै असर परेको छ । ’ बोर्डिङको गेटभित्र गरिने नेपाली भाषाको बन्देजले अहिले भाषानै लोप हुने अवस्थामा पुगेको उनको भनाइ थियो ।

साथै प्रदेश सरकारले १ नं प्रदेशलाई सुर्तिजन्य पदार्थ निशेधित क्षेत्र घोषणा गर्ने योजना बनाएको हुनाले सबैले यस अभियानलाई सहयोग गर्नेमा विश्वस्त रहेको उनले बताए । उनले कोरोना भाइरसको विषयमा सहिसुचना लिनदिनुपर्ने भन्दै अनावश्यक होहल्लाको पछि लागेर आतिहाल्नुपर्ने अवस्था नरहेको बताए । हालसम्म यो भाइरस नेपालमा नदेखिएको हुनाले सबैलाई नआत्तिइ साबधानि अपनाउन आग्रह गरे ।

कार्यक्रममा सोही विद्यालयमा अध्ययन गरि हाल विभिन्न क्षेत्रमा रहेर समाज र राष्ट्रलाई योगदान पु¥याउने पूर्व विद्यार्थिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सञ्चारकर्मि तथा एभिन्यूज टेलिभिजनका पथरी संवाददाता गोपाल काफ्ले, पहीलो मिस पथरी हुँदै मिस पूर्वाञ्चलको समेत उपाधी जितेको पथरीकै रिजु भट्टराई, राष्ट्रिय खेलाडि दिपक राई, नेपाल जेसिज बर्ष २०२० का राष्ट्रिय अध्यक्ष अशोक शंकर तथा गायक अमिर राई लगायत रहेका थिए । कार्यक्रममा विभिन्न अक्षयकोषदाताहरुबाट सञ्चालित अक्षयकोषबाट सयौँ विद्यार्थिहरुलाई विद्यालय पोशाक, स्टेशनरि सामग्री सहितको स्कुल ब्याग लगायतका सामग्री वितरण गरिएको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थिहरुले कार्यक्रममा मार्चपास समेत गरेका थिए । २३ गते सम्म चल्ने विज्ञान प्रदर्शनीमा ५० वटा स्टल रहेका छन् ।

सम्बन्धित खवर