
गाब्रीएस जेससको दुई गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा उल्भ्सलाई ४–१ ले पराजित गरेको छ । उल्भ्सविरुद्ध सहज जितपछि सिटीले अंकतालिकामा १५ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ ।
सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा गाब्रियल जेससले दुई गोल गर्दा रियाद महारेजले एक गोल गरे । उल्भ्सका लिन्डर डेनडोनकरले एक आत्मघाती गोल उपहार दिएका थिए । खेलको १५ औं मिनेटमा उल्भ्सका लिन्डरको आत्मघाती गोलबाट सिटीले अग्रता बनाएको थियो ।
पहिलो हाफमा सिटीको अग्रता कायम रह्यो । ५६औं मिनेटमा उल्भ्सका लागि कोएडीले बराबरी गोल फर्काए । तर अन्तिम १० मिनेट भित्र सिटीले ३ गोल ग¥यो । ८० औं मिनेटमा गाब्रीएल जेससले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।
९०औं मिनेटमा महारेजले गोल गरेपछि सिटीको ३–१ को अग्रता बनायो । जेससले खेलको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए । सबैखाले प्रतियोगितामा सिटीको यो लगातार २१ औं जित हो ।
जसमा सिटीले ५५ गोल गर्दा जम्मा ८ गोल व्यहोरेको छ । जितपछि २७ खेलबाट ६५ अंक जोडेको लिग लिडर सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडमाथि १५ अंकको अग्रता समेत बनाएको छ ।
२६ खेल खेलेको युनाइटेडको ५० अंक छ । पराजित उल्भ्स २७ खेलबाट ३४ अंकसहित १२ औं स्थानमा छ ।

