सेभियाविरुद्ध नाटकीय जितपछि बार्सिलोना कोपा डेल रे को फाइनलमा - Crazysaptahik.com

सेभियाविरुद्ध नाटकीय जितपछि बार्सिलोना कोपा डेल रे को फाइनलमा

सेभियालाई दोस्रो लिगमा ३–० ले पराजित गर्दै समग्रमा ३–२ को जितसहित बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले अतिरिक्त समयमा सेभियालाई ३–० ले पराजित गरेको हो । जहाँ सेभियाका दुई खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए भने बार्सिलोनाका गोलकिपर मार्क टेर स्टेगनले पेनाल्टी रोकेका थिए ।

सेभियाको मैदानमा भएको पहिलो लेगमा २–० ले पराजित भएको बारसिलोनाले समग्रमा ३–२ ले खेल जितेको हो । दोस्रो लेगमा बारसिलोनालाई घरेलु मैदानमा जित दिलाउन उसुमाने डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटले एक–एक गोल गरे ।

खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा सेभियाले खेलमा फर्कने अवसर पाएको थियो ।

तर ७३औं मिनेटमा सेभियाका लुकास ओकाम्पसको पेनाल्टी प्रहार बार्सिलोनाका गोलरक्षक मार्क स्टेगनले बचाए । निर्धारित ९० मिनेमा बार्सिलोनाले एक गोलको अग्रता बनाए पनि समग्रमा सेभिया २–१ ले अघि थियो ।

तर इन्जुरी टाइममा खेलले नाटकीय मोड लियो । इन्जुरी टाइममको दोस्रो मिनेटमा फर्नान्डोले रातो (दोहोरो पहेँलो) कार्ड पाउँदै मैदान बाहिरिएपछि सेभिया १० खेलाडीमा समेटियो ।

त्यसैको फाइदा बार्सिलोनालाई भयो । इन्जुरी टाइमको चौथो मिनेटमा पिकेले गोल गरेपछि बार्सिलोनाले २–० को अग्रता बनायो र खेल समग्रमा २–२ को बराबरीमा पुग्यो ।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जहाँ ९५औं मिनेटमा मार्टिन ब्रेथवेइटले गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । अन्ततः त्यही गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो ।

खेलको १०३ औं मिनेटमा लुक डी जोङले रातो कार्ड पाएपछि सेभिया ९ खेलाडीमा समेटिएको थियो ।दोस्रो लेग ३–० ले जित्दै बार्सिलोना समग्रमा ३–२ ले विजयी भएको हो ।

अब बार्सिलोनाले उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्नेछ । यी टोलीले पहिलो लेगमा १–१ को बराबरी खेलेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.