
नेपाल पुलिस क्लबका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि काठमाडौं मेयर्स कप २०७७ क्रिकेटमा त्रिभुवन आर्मी क्लब पुलिसविरुद्ध ८७ रनमै अलआउट भएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३०.१ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाएको हो ।
आर्मीका लागि नवौं नम्बरमा ब्याटिङ गरेका लोकेश बमले सर्वाधिक ३२ रन बनाए । यसअघिका दुई खेलमा सोमपाल कामीसँगै ओपनिङ गरेका लोकेशले पुलिसविरुद्ध भने तल्लोक्रममा ब्याटिङ गरेका हुन् ।
उनले २४ बल खेल्दै २ चौका ३ छक्का प्रहार गरे । नवौं विकेटका लागि लोकेशले विक्रम सोबसँग ४१ रनको साझेदारी गरेका थिए । ४३ रन हुँदा ८ विकेट गुमाएको आर्मीका लागि लोकेश र विक्रमको साझेदारी रनले केही उकासेका थिए ।
विक्रमले १४ रन जोडे । यस्तै रोहित पौडेलले १३ रन बनाए । यी तीनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीलाई अलआउट गर्न पुलिसका सागर ढकाल एक्लैले ५ विकेट लिए ।
आर्मीविरुद्ध सागरले १० ओभरमा २ मेडन राख्दै ४० रन खर्चेर ५ विकेट लिए । यस्तै पवन सर्राफले १० ओभरमा ५ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी ५.१ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए ।

