
स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग १–१ को बराबरी खेलेपछि समग्रमा ५–२ ले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।
बार्सिलोना सन् २००६–०७ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्न असफल भएको हो । पहिलो लिगमा पीएसजीले ४–१ को जित हात पारेको थियो । बार्सिलोनालाई क्वाटरफाइनल पुग्न कम्तीमा ४–० को जित आवश्यक थियो ।
तर दोस्रो लेग १–१ को बराबरी भएपछि बार्सिलोना बाहिरियो । पीएसजी सहज जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ ।घरेलु मैदानमा भएको दोस्रो लिगमा किलिएन एमबाप्पेले ३१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
३७ औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी टाइममा बार्सिलोनाले अग्रता लिने अवसर पाए पनि गुमायो । एन्टोनियो ग्रीजम्यानलाई पीएसजीका कुर्जावाले फउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो तर मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
मेस्सीको पेनाल्टी प्रहार पीएसजीका गोलकिपर नाभासले उत्कृष्ट बचाऊ गरेका थिए । मेस्सीले सन् २०१५ पछि पहिलो पटक च्याम्पियन्स लिगमा पेनाल्टीमा गोल गर्न नसकेका हुन् ।


