
लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा १४ अंकको अग्रता कायम गरेको छ । बुधबार राति भएको खेलमा साउथह्याम्पटनलाई ५–२ ले पराजित गर्दै सिटीले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि अंङ्कदूरी पराकिलो बनाएको हो ।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएना र रियाद महरेजले दुई–दुई गोल गरे । यस्तै इल्के गुन्डोगानले एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्ड र चे एडम्सले एक एक गोल फर्काए ।
खेलको १५औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा जेम्स वार्डले साउथह्याम्पटनका लागि पेनाल्टीमा बराबरीमा गोल गरे । ४० औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा गुन्डोगानले गोल गरेपछि सिटीले ३–१ को अग्रता बनायो । ५५ औं मिनेटमा महारेजले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ४–१ को अग्रता बनायो । त्यसको एक मिनेटपछि साउथह्याम्पटनका एडम्सले गोल गर्दै खेल ४–२ को स्थितिमा ल्याए।
५९औं मिनेटमा ब्रुएनाले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ५–२ अग्रता बनाउँदै सहज जित हात पारेको थियो । जितपछि सिटी २९ खेलबाट ६८ अंक जोडेको छ । एक खेल कम खेलेको युनाइटेड ५४ अंकसहित दोस्रो स्थानमा । २८ खेलबाट ३३ अंक रहेको साउथह्याम्पटन १४ औं स्थानमा रहेको छ ।


