नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० : पुल्चोकलाई सान्त्वना जित - Crazysaptahik.com

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० : पुल्चोकलाई सान्त्वना जित

पुल्चोक इन्जिनियरिङ क्लबले राजधानीमा जारी नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ । उसले खेल जिते पनि सेमिफाइनलमा पुग्न सकेन । धुम्बाराहीस्थित पाकिस्तान दूतवासको मैदानमा भएको खेलमा पुल्चोकले आरएस विद्यापीठलाई २८ रनले पराजित गरेको हो ।

२ सय ४६ रनको लक्ष्य पछ्याएको आरएस विद्यापीठले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २० रन मात्र जोड्न सक्यो । विद्यापीठका जनक भट्टले ४४ रनको योगदान गरे पनि टोलीको हार भने टार्न सकेनन् ।

बलिङतर्फ पुल्चोकका उदीप श्रेष्ठले र दिनेश ठगुन्नाले समान २ विकेट लिए । टस जितेर ब्याटिङ रोजेको पुल्चोकले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै २ सय ४६ रन जोडेको थियो । पुल्चोकका ओपनर गौरब खड्काले ९४ र सागर थापाले ६७ रनको योगदान गरे ।

१२ टोलीको सहभागिता रहेको प्रतियोगिताको सेमिफाइनल समीकरण भने यसअघि नै पूरा भइसकेको छ । समूह ए बाट हाम्रो किचन,समूह बी बाटा बलपार्क क्रिकेट एकेडेमी,समूह सी बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र समूह डी बाट एन्जल हार्ट समूहको शीर्ष स्थानमा बस्दै अन्तिम ४ मा प्रवेश गरिसकेका छन् ।

शुक्रबार हुने पहिलो सेमिफाइनलमा ग्रेट हिमालय र हाम्रो किचन र दोस्रो सेमिफाइनलमा एन्जल हार्टले बाल पार्कको सामना गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.