युनाइटेड र एसी मिलानले खेले बराबरी - Crazysaptahik.com

युनाइटेड र एसी मिलानले खेले बराबरी

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाइटेड र एसी मिलानले १–१ को बराबरी खेलेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा पहिले अग्रता लिएपनि युनाइटेडले जोगाउन सकेन र इन्जुरी टाइममा गोल खाँदा जितबाट वञ्चित भयो । त्यसअघि खेलको १२ औं मिनेटमा मिलानका फ्रान्क केस्सीले गोल गरे पनि गोलअघिको ह्यान्डबलको कारण उनको गोलले मान्यता पाएन ।

खेलको ५० औं मिनेटमा युवा खेलाडी अमद डियालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी टाइममा साइमन केजेरले गोल गर्दै मिलानको हार टारेका थिए ।

यी दुई टोलीबीच दोस्रो लेगको खेल मार्च १९ मा मिलानको मैदानमा हुनेछ । युरोपा लिग अन्तर्गत नै अन्तिम १६ को पहिलो लेगमा दुई इंग्लिस क्लब आर्सनल र टोटनहम हट्सपरले जित हात पारेका छन् ।

यस्तै इटालियन क्लबले रोमाले पनि जित हात पारेको छ । आर्सनलले ग्री क क्लब ओलम्पियाकोसलाई ३–१ ले हरायो । आर्सनलका लागि मार्टिन ओडेगार्डले ३४औं, गाब्रीएलले ८०औं र मोहमेद एल्नेले ८५औं मिनेटमा गोल गरे ।

ओलम्पियाकोसका लागि युसुफ एल अरबीले ५८ औं मिनेटमा गोल गरे । यस्तै टोटनहमले डिनामो जाग्रेवलाई २–० ले पराजित गरेको छ । टोटनहमका लागि दुवै गोल ह्यारी केनले गरे । उनले २५औं र ८०औं मिनेटमा गोल गरे । इटालियन क्लब रोमाले युक्रेनी क्लब शाख्तर डोनेस्क्टलाई ३–० ले हराएको छ ।

रोमाका लागि लरेन्जो पेलेग्रिनीले २३औं, स्टेफेन अल सेरावेले ७३औं र जियानलुका मान्सिनीले७७औं मिनेटमा गोल गरे । यस्तै स्पानिस क्लबद्वय भियारियल र ग्रानडाले पनि जित हात पारेका छन् । भियारियलले डाइनामो किभ र ग्रानडाले मोल्डेलाई समान २–० ले हराए । डच क्लब अयाक्सले स्वीस क्लब योङ ब्वाइजलाई ३–० ले पराजित गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.