
इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २–० ले पराजित गर्दै सिटीले समग्रमा ४–० को जित हात पारेको हो ।
सिटीले पहिलो लेगमा पनि २–० कै जित हात पारेको थियो । दोस्रो लेगमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएना र इल्के गुन्डोगानले एक एक गोल गरे । खेलको १२औं मिनेटमा ब्रुएनाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
त्यसको चार मिनेटपछि नै गुन्डोगानले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल भएन । सिटी लगातार चौथो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । यस्तै मोन्चेनग्लाडबाकविरुद्ध दुई गोल गर्दै सिटीले यश सिजन सबैखाले प्रतियोगितामा गरेर १०१ गोल गरेको छ ।


