एन्फा प्रेसिडेन्ट लिगमा बाँकेको धम्बोझी विजयी - Crazysaptahik.com

एन्फा प्रेसिडेन्ट लिगमा बाँकेको धम्बोझी विजयी

लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लबले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा विजयी सुरुवात गरेको छ । नेपालगञ्जमा भइरहेको लिगमा बाँकेको धम्बोझीले मंगलाबार गण्डकी प्रदेशको लिग विजेता त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरेको हो ।

नेपालगञ्ज रंगशालामा भएको खेलमा धम्बोझीका लागि पूर्णबहादुर गुरुङले निर्णायक गोल गरे । उनले ४२ औं मिनेटमा गोल गरेका थिए । पूर्ण म्यान अफ द म्याचबाट पुरस्कृत भए, उनले नगद ५ हजार प्राप्त गरे ।

मंगलबारै भएको पहिलो खेलमा वाग्मती प्रदेशको लिग च्याम्पियन धादिङ समाजले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको थियो । लिगमा बुधबार एउटामात्र खेल हुनेछ ।

जसमा प्रदेश १ को सैनिक फुटबल क्लब झापा र सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबीच खेल हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सोमबारदेखि सुरु भएको लिगमा सात प्रदेशका ७ च्याम्पियन टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

चैतको १५ गतेसम्म चल्ने लिगको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा स्थान बनाउनेछन् । लिगको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.