
फुटबल अमिर श्रेष्ठ लगातार दुई दिन दुई फरक क्लबबाट फरक स्थानमा फुटबल खेल्दै गोल गरेका छन् । त्यतिमात्र होइन उनी दुवै स्थानमा म्यान अफ दि म्यचसमेत घोषित भए ।
अहिले नेपालगन्जमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा एन्फा प्रेसिडेन्ट लिग आयोजना भइरहेको छ । यस्तै हेटौंडामा तेस्रो शहीद स्मृति राष्ट्रिय गोल्डकप भइरहेको छ ।
नेपालग्नजमा सात प्रदेशका च्याम्पियन टोलीहरु खेलिरहेका छन् । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष चार टोलीहरु राष्ट्रिय लिगका लागि छनोट हुनेछन् । उता हेटौँडामा भने नकआउट गोल्डकप भइरहेको छ ।
जहाँ ए डिभिजन लिग विजेता मछिन्द्र क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबदेखि नेपाल पुलिस क्लब, संकटा क्लबलगायतले प्रतिस्पर्धा गरिरहेका छन् । अमिर श्रेष्ठ भने अहिले दुवैतिर छाएका छन् ।
मंगलबार नेपालगन्जमा धादिङ समाजका लागि खेल्दै चार गोल गरेका अमिरले बुधबार हेटौंडामा आयोजक मकवानपुर–११ का लागि खेल्दै २ गोल गरे । दुवै खेलमा उनी म्यान अफ दि म्याच घोषित भए ।
अमिरको चार गोलमा धादिङले कर्णाली प्रदेशको च्याम्पियन लेकाकी क्लबलाई ९–१ ले पराजित गरेको थियो । जहाँ रुपेश केसीले समेत धादिङबाट खेलेका थिए ।
अमिरसँगै रुपेशले पनि बुधबार मकवानपुरका लागि खेले । अमिरको दुई गोल मद्दतमा मकवानपुरले मछिन्द्र क्लबलाई ४–३ ले पराजित गर्दै शहीद स्मृति गोल्डकपको फाइनलमा स्थान बनाएको छ ।
यसबारे बुझदा अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले सम्बन्धित क्लबले रिलिज गरेको खण्डमा अर्को प्रतियोगिता खेल्न पाउने बताए । ‘प्रेसिडेन्ट लिग एन्फाको अफिसियल प्रतियोगिता हो ।
अर्को नकआउट प्रतियोगिता हो । यदि प्रेसिडेन्ट लिग खेल्ने क्लबले खेलाडी रिलिज गरिदिएमा अर्को प्रतियोगिता खेल्न पाउनेछ,’ राईले भने । अमिरले भने प्रेसिडेन्ट कप अघि नै हेटौंमा खेलिसकेका थिए ।
उनी बागमती प्रदेशका खेलाडी भएकोले धादिङ समाजको टिममा समावेश गरेर प्रेसिडेन्ट लिग खेल्न लगेको धादिङका प्रशिक्षक दीपक रानाले बताए । ‘अमिर हेटौँको स्थानीय खेलाडीसमेत हो ।
उसले त्यहाँ पहिले खेलिसकेको थियो । बागमती प्रदेशकै खेलाडी भएकोले हामीले पनि टिममा समावेश गरेका हौँ,’ उनले भने ।


