एक करोड पचासी लाख जरिवाना भएका व्यक्ति पक्राउ - Crazysaptahik.com

एक करोड पचासी लाख जरिवाना भएका व्यक्ति पक्राउ

नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्र प्रसाद ढुङ्गानालाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनको विसं २०७७ माघ ५ को फैसलापछि एक महीना कैद र बिगो बमोजिम रु एक करोड ८५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका ढुङ्गानालाई मङ्गलबार धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका ढुङ्गानाले आफ्नो प्रभु बैंक लिमिटेड सुकेधाराको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुर जन्य अपराध गरेका थिए ।

उच्च अदालतले ढुङ्गानालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।

पक्राउ परेका ढुङ्गानालाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता पन्तले बताए

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.