मोरङमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते - Crazysaptahik.com

मोरङमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

मोरङ ।  मोरङको रतुवामाई घर भएका दुई जनाको झापाको दमकमा शनिबारसाँझ ५ः३० बजेतिर टिपरले ठक्कर दिँदा ज्यान गएको छ । तीन जना सवार रहेको मोटरसाइकललाई पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा टिपरले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ –०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर रतुवामाई नगरपालिका–८ का २३ वर्षीय निरन बस्नेत र २४ वर्षीय अनिष कोइरालाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीले जानकारी दिए । मृतकमध्ये बस्नेत मोटरसाइकल चालक हुन् ।

कोइराला पछाडि बसेका थिए ।दुर्घटनामा परेर दुवै जना गम्भीर घाइते भएका थिए । बस्नेतको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा साँझ ७ :४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै उपचारका लागि दमककै लाइफलाइन अस्पताल लैजाँदै गर्दा कोइरालाको बाटैमा मृत्यु भएको हो । मोटरसाइकलको बीचमा रहेका रतुवामाईकै १८ वर्षीय हर्षित बास्तोला गम्भीर घाइते भएको जानकारी डीएसपी कार्कीले दिए ।

उनका अनुसार बास्तोलाको बी एण्ड सी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अनियन्त्रित बनेको टिपर सडकको साइडमा रहेको एउटा रुखमा ठोक्किन पुगेको थियो । टिपर ठोक्किएपछि रुख नै भाँचिएको प्रहरीले जनाएको छ ।

टिपरको अगाडिको भागमा क्षति पुगे पनि चालक भने सकुशल छन् । टिपरले ठक्कर दिएपछि मोटरसाइकलमा पनि पूर्ण रुपमा क्षति पुगेको डीएसपी कार्कीले बताए ।

उनका अनुसार टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि भएको दुर्घटनाबाट जोगिन खोज्दा अर्को मोटरसाइकल पनि अनियन्त्रित भएर दुर्घटनामा परेको छ ।

अनियन्त्रित भएर को २८ प ११३६ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा दुई जना घाइते भएको कार्कीले बताए । दुर्घटनामा परेर उक्त मोटरसाइकलका चालक मोरङको उर्लाबारी नगरपालिका–८ का ४० वर्षीय तुलाराम ढुंगाना र ८५ वर्षीय शिवलाल ढुंगाना सामान्य घाइते भएका छन् ।

दुवै जनाको दमकस्थित निम्स अस्पतालमा उपचार जारी रहेको जानकारी डीएसपी कार्कीले दिए । उनका अनुसार टिपर र टिपर चालक दमक–४ का ४९ वर्षीय प्रकाश तामाङ तथा दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको छ ।

प्रहरी नियन्त्रणमा रहेका टिपर चालकले भने मोटरसाइकल ठोक्किएर दुर्घटना भएपछि मात्रै आफूले थाहा पाएको बताएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.