क्रेजी संवाददाता
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ मा हालसम्म ५८ प्रतिशत काम सम्पन्न गरेको जानकारी गराएको छ । फागुन २४ गते सम्पन्न भएको गाउँसभाले चालु आर्थिक वर्षमा ५८ प्रतिशत काम सम्पन्न भएको समीक्षा गरेको हो ।
८ औं गाउँसभाका विषयहरु सार्वजनिक गर्न आइतबार गरिएको पत्रकार सम्मेलनमा सभामा भएका विषयहरुको संक्षिप्त विषयहरु प्रवक्ता शुशिल बुढाथोकीले सार्वजनिक गर्नुभएको थियो । सभाले माघ मसान्तसम्ममा भएका प्रगतिहरुको विवरण पास गरेपछि सार्वजनिक गरेको हो ।
अर्ध वार्षिकी समिक्षामा वार्षिक बजेट अन्तर्गत जम्मा ६१ करोड ३७ लाख ४४ हजार ७१ रुपैँया आम्दानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै माघ मसान्तसम्ममा ३३ करोड, १६ लाख, १२ हजार २६३ रुपैँया आम्दानी भएको जनाइएको छ । माघ मसान्तसम्ममा चालु खर्च ४३.१६ प्रतिशत, पूँजिगत खर्च २८.६७ प्रतिशत र सामाजिक सुरक्षा तर्फ ६२.४५ प्रतिशत खर्च गरेको जनाइएको छ । हालसम्म जम्मा ३० करोड ७ लाख ३० हजार ६४१ रुपैँया अर्थात ५८ प्रतिशत रकम खर्च भएको जानकारी गराएको छ ।
गाउँपालिकामा जम्मा ३ सय २४ वटा योजना रहेकामा माघ मसान्तसम्ममा १ सय १० वटा योजना सम्झौता भएर कार्यान्वयनमा रहेका छन् । १ सय वटा योजना सम्पन्न भएका छन् भने ११४ वटा योजना सम्झौता हुन बाँकी रहेका छन् । मानव संसाधन विकास तथा कार्यक्रम अन्तर्गत जम्मा ३४८ वटा रहेकामा १९ वटा कार्यक्रम सम्झौता भएर कार्यान्वयनको चरणमा रहेका छन् । २६ वटा कार्यक्रम सम्पन्न भएका छन् भने २८७ वटा कार्याक्रम सम्झौता हुन बाँकी रहेका छन् ।
सभााले वडा स्तरबाट पेश भएका योजनाहरु संसोधन गर्ने काम पनि गरेको छ । न्यायिक समितिले ७६ वटा विवाद तथा उजुरीको फर्छयौट गरेको छ । ७९ वटा उजुरी माध्ये ५४ वटाको मिलापत्र गरिएको र २२ वटाको ऐनमा व्यवस्था भए अनुरुप निर्णय गरिएको न्यायिक समिति संयोजक तथा उपाध्यक्ष राजमती इङ्नामले जानकारी दिनुभयो । बाँकी ३ वटा उजुरीको फर्छयौट हुन बाँकी रहेको इङ्नामले बताउनुभयो ।
राजश्व परामर्श समितिले पूर्वपश्चिम राजमार्गमा विज्ञापनका लागि राखिने बोर्डहरुको राजश्व संकलन गर्ने निर्णय गरेको छ । समितिले राजमार्ग सहित कानेपोखरी रंगेली सडक खण्ड, रमाइलो दोहमना सडक खण्डमा राखिने विज्ञापन वोर्डहरुको पनि राजश्व संकलन गर्ने निर्णय गरेको छ । यस्तै समितिले कानेपोखरी बस स्टेण्डमा, पार्किङ गरिने सवारी साधन, निजि वन दर्ता, नविकरण, घर वहाल कर, घर नक्साको अभिलेखिकरण दस्तुर लिने विषयमा पनि निर्णय गरेको छ ।
सभाले चिसाङ खोला, डाँस खोला उत्खनन्बाट हुने समस्या, शिक्षक दरबन्दी मिलान, सबै क्षेत्रको समानुपातिक बिकास, सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या लगायतका विषयलाई सार्वजनिक महत्वको विषयमा रुपमा अगाडी सारेको गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्लेले बताउनुभयो । पालिकाले खरको छाना विस्थापन, जनता आवास अन्तर्गत ऋषिदेव बस्तीका घर निःशूल्क रुपमा निर्माण गर्ने, पूर्ण विधुतीय गाउँपालिका घोषणा, छात्रासंग उपाध्यक्ष कार्यक्रम लगायतका महत्वपूर्ण कार्याक्रमहरु समेत गरिरहेको काफ्लेले बताउनुभयो ।
पालिकाले नयाँ जनमुखी कार्यक्रमका रुपमा ऋषिदेव, झँगड र अति विपन्न परिवारलाई निःशुल्क रुपमा स्वास्थ्य विमा कार्यक्रम, सुगर र प्रेसरका विरामीका लागि नियमित रुपमा निःशूल्क औषधी वितरण गर्ने कार्यक्रम अगाढी सारेको छ । पालिकामा भएका ४ हजार ६ सय ५ घर परिवार भूमिहिन, दलित तथा अव्यवस्थित बसोबासीहरुको लगत संककलन गरिएको काफ्लेले बताउनुभयो । सो मध्ये यसअघिका आयोगबाट भएका अधुरा कामहरु ३ सय ७४ घरको प्रमाणिकरणका लागि आयोगको जिल्ला स्थित कार्यालयमा पठाइएको पनि काफ्लेले जानकारी दिनुभयो ।
भिडियो हेर्नुहोस :-