एन्फा प्रेसिडेन्ट कप : मनकामना युवा क्लब रौतहटको पहिलो जित - Crazysaptahik.com

एन्फा प्रेसिडेन्ट कप : मनकामना युवा क्लब रौतहटको पहिलो जित

नेपालगन्ज । प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित हात पारेको छ । नेपालगन्ज रंगशालामा मंगलबार भएको खेलमा मनकामनाले कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई १–० ले पराजित गरेको हो ।

मनकामनाको तर्फबाट भुवन बस्नेतले ३७औं मिनेटमा गोल गरेका थिए । पेनाल्टी अवसरमा भुवनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा मनकामना पहिलो जित पारेको हो । जितसँगै मनकामनाले ३ अंक जोडेको छ । लेकालीले भने अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

खेलमा लेकाली युवा क्लबका कप्तान युद्ध शाही म्यान अफ द म्याचबाट पुरस्कृत भए । लगातार हारको सामना गरे पनि मनकामनाले मंगलबार लेकालीविरुद्ध सम्हालिएर खेलेको थियो । यसअघिका तिन खेलमा स्टार सिटी, धम्बोझी क्लब र धादिङ समाजसँग मनकामना ३–० ले पराजित भएको थियो ।

लेकाली युवा क्लब भने झापाको सैनिक युथ क्लबसँग १–१ को बराबरी खेल्दै १ अंक बटुलेको थियो । लेकालीले धादिङ समाजविरुद्धको खेलमा ९–१ ले पराजित भएको थियो भने त्रिवेणी युवा क्लब लमजुङसँग २–१ खेल गुमाएको थियो ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णालीको लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.