
खोटाङ । जंगलमा लागेको डढेलोले खोटाङमा ४ वटा घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ विजयखर्कस्थित ३ वटा सामुदायिक वनमा फैलिएको डढेलो गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको हो ।
आगो नियन्त्रणका लागि दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली डढेलो प्रभावित क्षेत्र पुगेको हो । अहिले पनि सुरक्षाकर्मी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणमा चम्पावती माविका कक्षा ९ र १० का छात्रछात्रा र शिक्षकसमेत खटिएका थिए ।
स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनमा लागेको डढेलोले बसोबास नभएको घर जलेको हो । घरमा ताल्चा लगाएर तराई बसाइँ सरिसकेका ३ जना ढकाल परिवारको घरभित्रको भाँडाकुँडा भने निकालेर जोगाइएको स्थानीयबासी किशन भुजेलले बताए ।
डढेलोले ३ घर जलेको जानकारी आए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमरियाले बताए । हलेसी तुवाचुङको वडा नम्बर ११ राजापानीतिरबाट ३ दिनअघि सुरु भएको डढेलो विजयखर्कको साँघुरी सामुदायिक वन हुँदै अन्य वनमा प्रवेश गरेको छ ।

