इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : उद्घाटन खेलमा शिखर एफ.सी. विजयी - Crazysaptahik.com

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : उद्घाटन खेलमा शिखर एफ.सी. विजयी

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा आजबाट सुरु भएको इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उद्घाटन खेलमा शिखर एफ.सी. विजयी भएको छ । शिखरले वी.एण्ड.वी. वाई.जी.एफ.टी.लाई ०–१ गोलले पराजित गरेको हो । जितसँगै शिखरले ३ अंक जोडेको छ ।

‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ फुटबल प्रिमियर लिगको उद्घाटन खेलमा शिखरका सौर्य राउतको एक गोल नै जितको लागि निर्णायक गोल बन्यो । राउतले दोस्रो हाफको ४५ औं मिनेटमा कप्तान देवराज गुरुङको पासमा गोल गरेका हुन् । लिगकै यो पहिलो गोल हो ।

यस्तैगरी वाई.जी.एफ.टी.टिमका तर्फबाट ३ वटा निक्कै राम्रो अवसरहरु प्राप्त गरेपनि गोलले जाली चुम्न सकेन । उद्घाटन खेलको म्यान अफ दी म्याच शिखरका निर्णायक गोलकर्ता सौर्य राउत घोषित भए । भोलिको खेल लिगको पहिलो संस्करण विजेता १० नवोदय र वाई.एफ.सी. एफ.सी. बीच हुने आयोजकका बिकी राईले जानकारी दिए ।

औपचारिक कार्यक्रम :


प्रिमियर लिग सुरु हुनुअघि साकेला, च्याब्रुङ लगायतको झाकी प्रदर्शन गरिएको थियो । सो उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)को प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि दिलिप कुमार राईले मन्तव्यको क्रममा भने–‘नगरमा प्रिमियर लिगको रौनकता छाएको छ, अबका दिनमा फुटबल, क्रिकेट, चेस लगायतका खेलहरुको महत्वलाई हेरेर आर्थिक सिमा हेरेर खेल हुनुपूर्व नै लगानी निर्धारण गरिनेछ ।’

यस्तैगरी अखिल नेपाल फुटबल संघको मोरङ जिल्ला अध्यक्ष दिपेन्द्र धिमालले पथरीशनिश्चरेमा अन्य नगरपालिका भन्दा खेलकुदमा लगानी गरेको नगरपालिका धन्यवाद व्यक्त गरे ।

सम्बन्धित खवर