नगरमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने - Crazysaptahik.com

नगरमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरमा फागुन २८ गतेबाट चैत ४ गतेसम्मको एक साता अवधिमा घर घरमा पुगेर हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ ।

आम औषधि सेवनका लागि योजना तय गर्न आइतबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमलाई प्रभावकारी बनाउन वडा वडामा जनचेतना तथा प्रचार प्रसार कार्यक्रम गर्ने निर्णय भएको जनाइएको थियो ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत ११ औं चरणको हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियानका रुपमा नगरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका मार्फत औषधि सेवन गराइनेछ ।

नगर प्रमुख दिलिपकुमार राईले औषधि अनिवार्य रुपमा सेवन गर्नका लागि सवै पक्षको प्रचारात्मक अभियान सहितको सहकार्यले हात्तीपाइले रोगलाई निर्मूल गर्न सकिने भएकाले सवैलाई यो अभियानमा सामेल हुन आव्हान गर्नुभयो ।

सोमबारबाट वडास्तरीय सचेतना तथा प्रचारात्मक कार्यक्रम थालिने र अभियानमा खटिने स्वास्थ्यकर्मीलाई भोली र पर्सी तालिम प्रदान गर्ने निर्णय भएको छ ।

पथरीशनिश्चरे नगरमा गत वर्ष ५० हजार ३ सय १९ लाई औषधी खुवाइएको नगरको स्वास्थ्यकर्मी जगत मगरले बताए । यद्यपि पथरीमा ३ जनामा हात्तीपाइलेको लक्षण देखिएको मगरको भनाइ छ । यो बर्ष ६५ हजार ४९ लाई औषधी खुवाउने लक्ष्य रहेको मगरले जानकारी दिए ।

औषधि ७ दिन भित्रको सुत्केरी, २ वर्ष मुनिका बालबालिका, छारे रोग भएका बिरामी, अस्पताल भर्ना भएका सिकिस्त बिरामीहरु बाहेक दीर्घ रोगिहरुले पनि खान मिल्ने स्वास्थ्यकर्मी जगत मगरले बताए । पथरीशनिश्चरे नगरमा ५२४ जना दीर्घ रोगीहरु रहेको तथ्याङ्क छ । वडा वडामा पुगेर हप्तादिनसम्म खुवाइने, नसकीय समय अझ बढाइने पथरी नगर अस्पतालले जनाएको छ ।

स्वास्थ्य शाखाका जगतप्रसाद मगरले हात्तीपाइले रोगको जानकारी सम्बन्धी सहजिकरण गर्नुभएको कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर