द रियल ब्रदर्श इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग च्याम्पियन - Crazysaptahik.com

द रियल ब्रदर्श इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग च्याम्पियन

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको पहिलो संस्करणमा फाइनलको यात्रा तय गरेर पनि च्याम्पियन हुनबाट बञ्चित द रियल ब्रदर्श यस पटक भने च्याम्पियन बनेको छ ।

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधि द रियल ब्रदर्श एफ.सी.ले आफ्नो पोल्टामा पार्न सफल भएको छ । शनिबार पथरीको जाँते मोडमा अवस्थित पथरी रंगशालामा आज भएको फाइनल खेलमा न्यू स्टार फुटबल क्लबलाई १ का विरुद्व २ गोल गर्दै रियलले उपाधिमाथि दावेदारी प्रस्तुत गरेको हो ।

खेलको पहिलो हाफको इन्जुरी समयमा न्यू स्टारले सन्देश केसीको गोलबाट अग्रता लिएता पनि सो अग्रता खेल अवधिभर जोगाउन नसक्दा न्यू स्टारले हार व्यहोर्न बाध्य भयो ।

खेललाई बराबरीमा ल्याउने क्रममा रियल ब्रदर्शका समिर याख्खाले ४६ औं मिनेटमा गोल गरे । खेलमा बराबरी गरेको २ मिनेट बित्न नपाउदै रियलका लागि अंकित लिम्बुले हेड मार्फत् उत्कृष्ट गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए ।

पहिलो हाफको २८ औं मिनेटमा न्यू स्टारले पेनाल्टी प्रहारको अवसर पाए पनि कप्तान सुरेन्द्र आङ्देम्बे गोल गर्नबाट चुकेका थिए । न्यू स्टारले सुरुवातदेखि नै पाएको आफ्नो सुन्दर अवसरहरु गोलमा परिणत गर्न नसक्दा उपविजेतामा चित्त बुझाउनुपरेको थियो ।

फाइनल खेलको मेन अफ द म्याच विजेता टिमका विशाल पाण्डे भए । प्रतियोगिताको विजेता द रियल ब्रदर्शले नगद रु. २ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता न्यू स्टारले १ लाख ५१ हजार प्राप्त गर्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रियलका धिरेन विष्ट भए । यस्तै उत्कृष्ट डिफेन्स रियलका दिलिप धिमाल, उत्कृष्ट फरवार्ड रियल कै अंकित लिम्बु भए । उत्कृष्ट गोलकिपरको उपाधि रियलका रोजन धिमाल भए । यस्तै उत्कृष्ट मिड फिल्डर न्यूस्टारका दिपेन माझी, सर्वाधिक गोलकर्ता न्यू स्टारका जुनियर साँवा, उदयमान खेलाडी शिखर एफ.सी.का गोलकिपर समिर कट्वाल भए भने उत्कृष्ट प्रशिक्षक विजेता टिमका प्रशिक्षक सागर कार्की घोषित भए ।

प्रतियोगिताको फेयर प्ले टिमको उपाधि भने सिरिजंघा एफ.सी. ले पाएको छ । विधागत पुरस्कार राशी ७ हजार ५ सय रुपैयाँ रहेको थियो भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय रुपैयाँ प्राप्त गरे । यस्तै फेयर प्ले टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताका सम्पूर्ण सहभागी टिमहरुमा अक्सन मार्फत् खेलाडी अनुबन्धित गरिएको हो । अक्सनबाट खेलाडी अनुवन्धित गरी खेलाडीलाई व्यवसायिक वनाउने हेतुले मोफसलमा आयोजना गरिएको यो प्रतियोगिताले खेल र खेलाडीको विकासमा महत्वपूर्ण भूमिका रहेको आयोजकको दावी छ ।

प्रतियोगीताको फाइनल खेलको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईले गर्नुभएको थियो ।

प्रतियोगिताको टाइटल स्पोन्सर इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गरेको हो भने प्रतियोगिताको मुख्य सहयोगी पथरीशनिश्चरे नगरपालिका रहेको छ । फाइनल खेलमा गायकद्य डम्बर नेपाली र किरण गजमेर, नायकद्य रमित ढुंगाना र दिलिप रायमाझीको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर