
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरमा रहेका भुटानी शरणार्थी शिविरका विद्यार्थीका लागि आईतबारदेखि अतिरिक्त कक्षा सञ्चालन भएको छ ।
पथरीशनिश्चरे नगरपालिकाको कार्यालयको समन्वयमा नगरका विभिन्न वडाहरुमा रहेका विभिन्न निजी बोर्डिङ तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन भएको हो ।
आइतबार एक औपचारिक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरका शिक्षा शाखा प्रमुख एवं प्रदेश नं १ का उप– सचिव शालिकराम काफ्लेले प्रमुख अतिथिको तर्फबाट उद्घाटन गर्नुभएको छ भने भुटानी शरणार्थी शिविर पथरीशनिश्चरेका क्याम्प सचिव चम्चा सिंह राईले अध्यक्षता गर्नुभएको छ । उक्त अवसरमा वेलडागी शरणार्थी शिविरका सचिव डिवी राई समेतको उपस्थिति रहेको थियो ।
भुटानी शरणार्थी समुदायका कक्षा –१ माथिका विद्यार्थीहरुले ड्युरेवल फ्रिडम फाउण्डेसन अफ अमेरिकाको मुख्य सहयोगमा उक्त अतिरिक्त कक्षामा पढ्ने अवसर प्राप्त गर्ने अतिरिक्त कक्षा सञ्चालन कार्यक्रमका संयोजक पुरूषोत्तम ढुंगेलले जानकारी दिनुभयो ।
तत्कालका निम्ति विहान र बेलुका दिनको दुई पटक संचालन हुने कक्षाका लागि २ जना शिक्षक र १ जना कुकसहितको गार्ड रहने गरी व्यवस्था गरिएको छ ।

