सन्तोष राई
पथरी । मोरङको पथरीशनिश्चरेमा आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी (टिकट) पाउन दौडधुप तीव्र बनाएका छन् ।
स्थानीय तह निर्वाचनको लागि पथरीशनिश्चरेको उल्लास राजनीतिक सरगर्मीका रुपमा प्रकट भएको छ । दुई ठूला पार्टी नेकपा एमाले र नेपाली कांग्रेस लगायत अन्य पाटीबाट मेयर पदको आकांक्षीहरुको लर्काे लागेको छ ।
१० वटा वडा रहेको यस नगरमा गत निर्वाचनमा मेयर, उपमेयर र वडा नं. १, २, ३, ७ र ९ गरी ५ वटा वडामा विजय हासिल गरेको नेकपा एमालेका तर्फबाट यस पटकको मेयरका उम्मेद्वार को हुने सबैमा कौतुहलताको विषय बनिरहेको छ ।
नेकपा एमालेका तर्फबाट प्रदेश कमिटी सदस्य तथा संगठन विभाग प्रमुख रामकुमार बस्नेत, केन्द्रीय सदस्य युवराज बास्कोटा, नगर प्रमुख तथा प्रदेश कमिटी सदस्य दिलिपकुमार राई, नगर उपप्रमुख तथा जिल्ला कमिटी सदस्य यमुना बिष्ट बास्तोला, पथरीशनिश्चरे नगर निवर्तमान अध्यक्ष तथा प्रदेश कमिटी सदस्य मोहन तुम्बापो, जिल्ला कमिटी सदस्य भगत थपलिया, नगर प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष यामप्रसाद गुरागाई, प्रदेश कमिटी सदस्य देवराज भण्डारी लगायतको संभावित उमेद्वारको चर्चा एमाले वृतमा चलिरहेको छ ।
यस्तैगरी नेपाली कांग्रेसका तर्फबाट अघिल्लो चुनावमा मेयरका उम्मेदवार एवं क्षेत्रीय सभापति गणेश खड्का, क्षेत्रीय प्रतिनिधिद्वय पर्शु कार्की, बद्री निरौला, पूर्व महाधिवेशन प्रतिनिधि नगेन्द्र लिम्बु, सामाजिक अगुवा माधव कोइराला, प्रदेश अधिवेशन प्रतिनिधि तथा पथरीशनिश्चरे वडा नं. ६ का अध्यक्ष जयबहादुर तामाङ, नेपाली कांग्रेस पथरीशनिश्चरे नगर अध्यक्ष रुपनारायण भट्टराई, नगर सचिव सन्तोष कटुवाल र लोकनाथ खरेल मेयरको आंकांक्षीहरु रहेको कांग्रेसमा चर्चा छ । नेपाली कांग्रेसले गत निर्वाचनमा वडा नं. ५, ६, ८ र १० गरी चार वटा वडामा विजयी हासिल गरेको थियो ।
यस्तै मेयर पदकै आंकांक्षीमा नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पथरीशनिश्चरेबाट प्रदेश सदस्यहरु मानप्रसाद लिम्बु, दिपक बस्नेत, टंक भण्डारी, नगर अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य तुलसी ढकाल, जिल्ला सदस्य बिन्दु राई रहेको स्रोतले बतायो ।
यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट भने आंकाक्षीहरु जिल्ला सदस्य तथा सह– इन्चार्ज बालकुमार मगर (विकास), प्रदेश सदस्य एवं नगर इञ्चार्ज दिनानाथ तिम्सिना, जिल्ला सदस्य तथा नगर सह–इन्चार्ज नेत्र पोखरेल, प्रदेश सल्लाहकार तथा गत निर्वाचनको मेयरका उम्मेद्वार जहरमान लिम्बु, नगरका उपाध्क्ष प्रेम ढकाल र नगर सदस्य मदन पोख्रेल रहेका छन् । गत वर्षको चुनावमा माओवादीका तर्फबाट एक मात्र वडा नं. ४ बाट गोविन्द भण्डारीले विजयी हासिल गरेका थिए ।
पथरीशनिश्चरेमा एमाले र कांग्रेस बाहेक अन्य पार्टीले वडा तहमा जित्न सक्ने आधार देखिदैन । यद्यपि ति दुई दलसँगै गठबन्धन गरेर केही वडाको नेतृत्व हात पार्न कांग्रेस–एमाले इतरका पार्टीहरु लागि परेको पथरीशनिश्चरेमा परिचर्र्चा छ । यसैगरी जनता समाजवादी पार्टीले गठबन्धन भए सोही अनुसार अघि बढ्ने यदि नभएमा नगर अध्यक्ष फिपराज बेघालाई मेयरको उम्मेद्वार बनाउने निश्चित छ ।
पथरीशनिश्चरेमा माओवादी, नेकपा (एस), जसपा र संघीय लोकतान्त्रिक मञ्चको चुनावी तालमेल हुनसक्ने संभावना बढी रहेको जानकारहरु बताउँछन् ।