‘एभरेष्टले नगरपालिकालाई चिनाउन मद्दत गरेको छ’– नगर प्रमुख तुम्वापो - Crazysaptahik.com

‘एभरेष्टले नगरपालिकालाई चिनाउन मद्दत गरेको छ’– नगर प्रमुख तुम्वापो

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे—१ मा स्थापित एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलले सोमबार ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ भव्य रुपमा मनाएको छ ।

सोमबार भएको सो कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एभरेष्ट स्कुलले नगरपालिकालाई चिनाउन मद्दत गर्दै आएको बताउनुभयो । संस्थागत विद्यालयहरू मध्ये जेठो एभरेष्ट रहेको र यहाँ अध्ययनरत विद्यार्थीहरूले परीक्षामा उच्च अंक ल्याउने गर्नुको साथै खेलकुद, कलाकारिता क्षेत्रबाट पथरीलाई चिनाउने काम गरेको भन्दै प्रमुख तुम्बापोले स्कुलको खुलेरै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो–‘एभरेष्ट स्कुललाई प्रदेश १ कै नमूना बन्द शुभेक्षा प्रकट गर्दछु ।’

एभरेष्ट स्कुलले वार्षिकात्सवको अवसरमा कृष्णप्रसाद उप्रेती र उप्रेती पत्नी मेनुकादेवी उप्रेतीलाई सम्मान गरेको छ । एभरेष्टबाट एसएलसी गरेका उप्रेती परिवारको तीनै जना सन्तान डाक्टर छन् । छोरा डा. स्वयम उप्रेती एमबीबीएस सकेर यतिवेला पथरीशनिश्चरे नगर अस्पताल कार्यरत छन् । जेठी छोरी अञ्जु मेडिकल डाक्टर र कान्छी सन्जु विद्यावरिधी गरेकी छन् ।

एभरेष्टको प्रिन्सिपल रबिन कन्दङ्वाले आफूहरु विद्यार्थीहरुलाई असल शिक्षा दिन लागि परिरहेको बताए । एसएलसीमा वि.सं.२०६६ मा विवेक कोइरालाले ९० प्रतिशत अंक ल्याएर एसएलसी गरेका थिए ।

तीन बर्षपछि सलिना राईले ९२ प्रतिशत अंक ल्याएर बोर्डको पाँचौ भएको सम्झना दिलाए । बोर्डमा पाँचौ हुदा प्रधानमन्त्रीको हातबाट सम्मान र बधाई पाउदा गर्व लागेको प्रिन्सिपल कन्दङ्वाले सुनाए । सलिना राईसँगै दिक्षा न्यौपाने, आस्मा पोखरेलले पनि ९० प्रतिशत अंक कटाएका थिए ।

प्रदेश नं. १ मा ४ जना मध्य एभरेष्टबाट २ जना विद्यार्थीहरु आदर्श न्यौपाने, समिता रिजालले जीपीए—४ ल्याएको सम्झना दिलाए । प्रिन्सिपाल कन्दङ्वाले सबै विद्यार्थी पढ्न मात्र भन्दा पनि फरक, फरक विद्यामा क्षमता लिएर जन्मिएको हुनाले प्रतिभा प्रस्फुटन गर्न लागिरहने बताए ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रुपनारायण भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर शिक्षा विभाग प्रमुख शालिग्राम काफ्ले, खलकुद तथा शिक्षा अधिकृत नवीन खुलाल, एभरेष्टको सहनिर्देशक दिनेश कन्दङ्वा लगायतको उपस्थिति रहेको थियो । कक्षा ११, १२ को संयोजक शिक्षक हिरालाल देवकोटाले असल शिक्षाको बारेमा मन्तव्य राखिएको कार्यक्रम शिक्षक वेदनिधी खनालले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर