ब्राजिलका फरवार्ड रोबार्टो फर्मिन्होले यो सिजनको अन्त्यमा क्लबसँगको करार सकिएसँगै लिभरपुल छाड्ने भएका छन् । ३१ वर्षीय खेलाडी सन् २०१५ मा होफेनहाइमबाट २।९ करोड पाउन्डमा लिभरपुलसँग आबद्ध भएका थिए ।
एनफिल्डमा रहँदा उनले क्लबलाई च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, ईएफएल कप र क्लब विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । क्लबका लागि उनले ३५३ खेल खेल्दै १०७ गोल गर्नुका साथै ७० वटा गोलका अवसरहरू सिर्जना गरेका छन् ।
लिभरपुलका म्यानेजर योर्गन क्लपले भने फर्मिन्हो क्लबमा रहुन् भन्ने आफूले चाहेका बताएका थिए । तर, क्लबसँग नयाँ करारबारे भएको छलफलपछि उनी क्लब छाड्ने निर्णयमा पुगेको बताइएको छ ।
मांसपेशीमा चोटका साथै डिओगो जोटा, लुइस डियाज, डार्विन नुनेज र कोडी गाक्पोको आगमनपछि फर्मिन्होले क्लबमा खेल्ने समय पनि कम पाइरहेका छन् ।