खोटाङ फुटबल एकेडेमी (केएफए) ले दिक्तेलमा आयोजना गरेको चौथो संस्करको ‘दिक्तेल मेयर कप अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले उचालेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा मङ्गलबार सम्पन्न फाइनल खेलमा माटिकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३–१ ले हराउँदै नेर्पाले चौँथो संस्करणको उपाधि उचालेको हो ।
प्रतियोगिताका उपाधि विजेता नेर्पा स्पोर्टस् क्लब नेर्पाले नगद रु एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको माटिकारे सामाजिक सेवा समाजले नगद रु ६२ हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्ताको उपाधि नेर्पाका विकी राई, उत्कृष्ठ खेलाडीको उपाधि माटकोरेका दीपक खत्री, उत्कृष्ठ गोलरक्षकको उपाधि माटिकोरेकै नवीन पोखरेल र उदयमान खेलाडीको उपाधि केएफएका रोहन परियारले प्राप्त गरेका छन् ।
उनीहरुलाई जनही नगद रु पाँच\पाँच हजारको साथमा गोल्डेन ग्लोब्स, गोल्डेन बल, गोल्डेन सुज र प्रमाणपत्र प्रदान गरिएको आयोजक केएफएका अध्यक्ष नुरकाजी सैंजुले जानकारी दिएका छन् । विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले नगद तथा पुरस्कार हस्तान्तरण गरेका छन् ।
यही फागुन–२७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा जिल्ला आठवटा क्लबले सहभागिता जनाएको आयोजक केएफएका प्रशिक्षण विभाग प्रमुख एवम् कोषाध्यक्ष रोपेश श्रेष्ठले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगितामा साकेला फुटबल क्लब रतन्छालाई ४–३ गोल अन्तरले हराउँदै नेर्पा तथा आयोजक केएफएलाई १–० ले हराउँदै माटिकोरे सामाजिक सेवा समाज फाइनल प्रवेश गरेको थियो ।
‘खोटाङको पहिचान खेलकुदको अभियान’ भन्ने नाराका साथमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख तीर्थराज भट्टराईले गरेका थिए । दिक्तेललाई कार्यक्षेत्र बनाएर २०७३ सालमा स्थापना गरिएको केएफएले वार्षिक कार्यतालिका तयार गरेर विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
यसअघि आयोजित दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि योङ ब्वाइज फुटबल क्लब दिक्तेलले उचालेको थियो । यसैबीच, प्रतियोगिता समापनको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी र जिल्ला फुटबल सङ्घ खोटाङबीच आयोजित मैत्रीपूर्ण खेलमा जिल्ला फुटबल सङ्घ विजयी भएको छ । रोमञ्चकारी प्रतिस्पर्धा भएको मैत्रीपूर्ण खेलमा १–० ले जिल्ला फुटबल सङ्घ विजयी भएको हो ।