एन्फाको मनपरी, वरिष्ठ उपाध्यक्षलाई मासिक ९९ हजार तलब - Crazysaptahik.com

एन्फाको मनपरी, वरिष्ठ उपाध्यक्षलाई मासिक ९९ हजार तलब

आखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी सबै पदहरू भोलेन्टियर हो । उनीहरू सबैले एन्फामा नेपाली फुटबलको विकासका लागि भनेर भोलेन्टियर पद सम्हालेका हुन् । तर, पछिल्लो समय एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई मासिक तलब दिने निर्णय गरेको छ ।

एन्फा कार्यसमिति बैठकको गत फागुनमा बसेको बैठकले यो निर्णय गरेको हो ।एन्फाको निर्णय नम्बर १३ को ‘च’ मा वरिष्ठ उपाध्यक्षले सहिद स्मारक ए, बी र सी डिभिजन लगायतको प्रतियोगितामा पूर्ण समय दिनुपर्ने भएकाले तलब दिने निर्णय गरेको छ ।

‘संघको वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिता समितिको संयोजक वीर बहादुर खड्काले सहिद स्मारक ए, बी र सी डिभिजन लिग र प्रधानमन्त्री थ्री नेशन कप र महिला ओलम्पिक क्वालिफायरमा पूर्णकालीन समय दिनुपर्ने भएकाले फागुण १ गतेदेखि जेठ मसान्तसम्म मासिक रु ९९,००० (उनान्सय हजार मात्र) उपलब्ध गराउने निर्णय गरियो’, निर्णयमा भनिएको छ ।

जसअनुसार उनले फागुण १ गतेदेखि जेठ मसान्तसम्म मासिक रु ९९ हजारका दरले तलब पाउनेछन् । एन्फाको उक्त कार्यसमिति बैठकलाई ११ जना सदस्यहरूले बहिस्कार गरेको थिए । उनीहरुले आफ्ना एजेन्डाहरू समाहित नगरेको र जबरजस्ती बैठक अघि बढाएको भन्दै कार्यसमिति बैठक नै बहिस्कार गरेका थिए ।

उक्त निर्णय एन्फाको एजेन्डामा पनि सामेल थिएन । वरिष्ठ उपाध्यक्षलाई मासिक तलब दिनेदेखि सबै निर्णयहरू आफूहरूले सम्बोधन नगरेको एन्फाका एक सदस्यले बताए । उनले एन्फा अध्यक्षले अहिले आफूखुसी निर्णयहरू गर्ने गरेकोले त्यसलाई आफूहरूले नमान्ने बताए ।

सम्बन्धित खवर