वन डढेलो नियन्त्रण चुनौती बनेको निश्कर्ष बास्तोलाको संयोजकत्वमा सञ्जाल गठन - Crazysaptahik.com

वन डढेलो नियन्त्रण चुनौती बनेको निश्कर्ष बास्तोलाको संयोजकत्वमा सञ्जाल गठन

क्रेजी संवादाता ।
उर्लाबारी, मंगलबारे सव डिभिजन वन कार्यालयले शुक्रबार सामुदायिक तथा साझेदारी वनका प्रतिनिधि र वन कर्मचारीलगायत सरोकारवालाहरुको समन्वय बैठक गरी वन डढेलो नियन्त्रण सञ्जाल गठन गरेको छ । डढेलो नियन्त्रण गर्न सामुदायिक वन र उपभोक्तालाई नै धेरै जवाफदेही बनाउने उद्देश्यका साथ सञ्जाल गठन गरिएको कार्यालयका सहायक वन अधिकृत तारणीप्रसाद चौधरीको भनाई छ ।

गर्मीयामको समयमा हुनसक्ने आगलागी न्युनीकरण गर्न सव डिभिजन वन कार्यालयको क्षेत्राधिकार भित्र रहेका उर्लाबारीका आठवटा सामुदायिक वनका प्रतिनिधि सम्मिलित वन डढेलो नियन्त्रण सञ्जाल गठन भएको हो । सञ्जालमा बेतिनी सामुदायिक वनका कोषाध्यक्ष अर्जुन बास्तोलालाई संयोजक चयन गरिएको छ ।

यस्तै, सदस्यहरुमा सालबारी सामुदायिक वनका प्रतिनिधि भानु पौडेल, सुनझोडा सनमुदायिक वनबाट बलबहादुर धिमाल, सिर्जना सामुदायिक वनबाट कैलाश राई, प्रगतिशिल सामुदायिक वनका हरिबहादुर कटुवाल, मनोहर सामुदायिक वनका भीम श्रेष्ठ, जनज्योति सामुदायिक वनका केशवकुमार मगर र हरियाली सामुदायिक वनका प्रतिनिधि पूर्ण श्रेष्ठ रहेका छन् ।

सञ्जालमा वन कार्यालयका तर्फबाट सुवेदार टंककुमार विश्वकर्मालाई सदस्य सचिवको जिम्वेवारी तोकिएको छ ।सव डिभिजन वन कार्यालय परिसरमा भएको छलफलमा वन क्षेत्रको समस्याका रुपमा रहेको वन डढेलो, वन अतिक्रमण तथा वन पैदावार र वन्यजन्तुको चोरी तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेकोमा सहभागीहरुले चिन्ता प्रकट गरेका थिए ।

कार्यक्रममा रेञ्जर अमृतबहादुर लिम्बूले स्थानीय तह, प्रशासन, वन कार्यालय र स्थानीयवासीहरुबीच समन्वय गरेर वन अतिक्रमण रोक्न पर्नेमा जोड दिदै वन डढेलो नियन्त्रणका लागि नयाँ सोच र योजनाका साथ काम गर्नुपर्ने बताए । डढेलोका कारण वन्यजन्तुको वासस्थानदेखि काठ दाउरा, जैविक प्रणालीमा नै ठूलो क्षति हुने गरेको भन्दै लिम्बूले धारणा राखेका थिए ।

यसैगरी डढेलो लाग्न नदिन विभिन्न क्रियाकलाप सञ्चालन गर्ने र डढेलो लागेको अवस्थामा सबैको सहभागितामा नियन्त्रणमा ल्याउन आफुहरु लागिपर्ने नवगठित सञ्जालका संयोजक बास्तोलाले जनाए । डढेलोबाट जनधन र वन्यजन्तुको क्षतिसँगै पर्यावरणीय क्षति हुने उल्लेख गर्दै वन कार्यालयका सुबेदार टंककुमार विश्वकर्माले भने ‘डढेलो नियन्त्रणमा समुदायको तदारुकता जरुरी छ ।

त्यसैले वन जोगाउन सामुदायिक वनका उपभोक्ताहहरुको अहम् भूमिका रहेकाले सबै मिलेर वनलाई डढेलो लाग्नबाट जोगाउनु पर्छ ।’ कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका सदस्य मित्रप्रसाद ढकाल, सालबारी सामुदायिक वनका अध्यक्ष नरेन्द्र थापा ‘जर्मन’, अस्थायी प्रहरी चौकी मंगलबारेका प्रहरी सहायक निरीक्षक हेमनारायण यादव, पथरीशनिश्चरे साझेदारी वनका प्रतिनिधि किरण पाठकलगायतको सहभागिता रहेको थियो ।

सव डिभिजन वन कार्यालय मंगलबारेका सहायक वन अधिकृत तारिणीप्रसाद चौधरीको कार्यक्रममा सभापतित्व रहेको थियो ।

सम्बन्धित खवर