जीतपुर सिमरा गोल्डकप : पहिलो खेलमै भरतपुरसँग ३–१ ले पराजित - Crazysaptahik.com

जीतपुर सिमरा गोल्डकप : पहिलो खेलमै भरतपुरसँग ३–१ ले पराजित

बिहीबारदेखि सिमरा रंगशालामा शुरु भएको १३ औ जीतपुरसिमरा गोल्डकपमा आयोजक नव–जनजागृती यूवा क्लब भरतपुर फुटबल क्लबसँग ३–१ को अन्तरले पराजित भएको छ ।

घरेलु मैदानमा पहिलो दिन भएको खेलमै आयोजक समुह प्रतियोगिताबाट निरीह भएर बाहिरिनु स्थानीय खेलप्रेमी दर्शकहरुका लागि भने दुखद भएको दर्शकहरुले बताएका छन् ।भरतपुरले खेलको सातौं मिनेटमै भिष्म क्षेत्रीको गोलबाट अग्रता बनायो ।

आकाश थापामगरको क्रसबललाई सदुपयोग गर्दै भिष्मलेले टिमलाई अग्रता दिलाएका थिए । सुरुवाती दबाब झेलेको आयोजकले खेलको ३३ औं मिनेटमा बराबरी गोलको अवसर बनायो । भरतपुरका डिफेण्डरले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै आयोजक टिमका अफ्रिकी स्ट्राईकर ग्लोरीले खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसको केहि मिनेटमै भरतपुरले सिमरा विरुद्ध पेनाल्टी अवसर पायो । भरतपुरका सुनील श्रेष्ठलाई आयोजक टिमका फोफानाले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरमा भरतपुरले पूनः अग्रता बनायो । सुनील श्रेष्ठको गोलबाट भरतपुरले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।

खेलको अन्तिम समय सम्म आयोजकविरुद्ध हाबी भएको भरतपुरले अन्तिम मिनेटमा सुनील श्रेष्ठकै गोल मार्फत आयोजक विरुद्ध ३–१ को जित दर्ता गरेको हो । दोश्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा सुनीलले गोल गरेका थिए ।

आयोजक विरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनील श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार नगद सहित ट्रफी प्राप्त गरे । उनलाई एन्फा उपाध्यक्ष दावा लामाले म्यान अफ दि म्याच प्रदान गरे ।

शुक्रबार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीविच खेल हुने छ । खेल अघि नेपाल सरकारका पूर्व मन्त्री एवं बाराका प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सम्बन्धित खवर