थपिँदै विदेश पलायन हुने खेलाडीको सूची, सुजल र रजिन अस्ट्रेलिया प्रस्थान - Crazysaptahik.com

थपिँदै विदेश पलायन हुने खेलाडीको सूची, सुजल र रजिन अस्ट्रेलिया प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडी विदेश पलायन भएकबा छन् । टोलीका महत्त्वपूर्ण सदस्य रहेका सुजल श्रेष्ठ र रजिन धिमाल बिहीबार अस्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रिय टोलीमा एक दशक बिताएका श्रेष्ठले अस्ट्रेलिया उड्न अघि सन्यासको घोषणा गरेका थिए । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने आफ्नो लागि यो उपयुक्त समय भएको बताएका थिए ।

सामाजिक सञ्जालमा उनले लेखेका थिए, ’मेरा सम्पूर्ण शुभचिन्तक, समर्थक र नेपाली फुटबल प्रेमीहरू माझ मेरो न्यानो नमन ! ११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केही खुसीका पल त केही दुखका, कतै उपाधि त कतै निराश क्षण लगायत यी सबै तिता मिठा सम्झनाहरू मनमा समेटी आज म राष्ट्रिय टोली बाट आफ्नो सन्यास घोषणा गर्दछु ।

यति लामो समयसम्म राष्ट्रिय टोलीको जर्सी लगाउन पाउनु मेरो लागि ठुलो सम्मान थियो । मैले यो गर्व र जोसका साथ निर्वाह गरेँ । हाल राष्ट्रिय टोलीमा रहेका र अन्य भाइहरू धेरै क्षमतावान् छन् । र म विश्वस्त छु कि भाइहरूले देशको झन्डा झुक्न दिने छैन ।

अब पालो नयाँ पुस्ताको हो । सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए । साथै मलाई विश्वास गर्दै नियमित राष्ट्रिय टोलीमा स्थान दिँदै यहाँ सम्म पुराउन मद्दत गर्नुहुने सम्पूर्ण प्रशिक्षकहरूलाई पनि हृदय देखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

नेपालबाट खेल्दै साग र सोलिडारिटी कप जस्ता उपाधि जितेका श्रेष्ठ पछिल्लो समय मच्छिन्द्र क्लबमा आबद्ध रहेका थिए । श्रेष्ठसँगै धिमाल पनि मच्छिन्द्र क्लबमा आबद्ध थिए । धिमाल यसअघि थ्रिस्टारबाट खेल्ने गर्थे । नेपालबाट विदेश पलायन हुने खेलाडीहरूको सूची बढ्दो छ ।

सम्बन्धित खवर