वोङको ह्याट्रिकको मद्दतले मुम्बई इन्डियन्स फाइनलमा - Crazysaptahik.com

वोङको ह्याट्रिकको मद्दतले मुम्बई इन्डियन्स फाइनलमा

इसाबेल वोङको ह्याट्रिक र नेट सिभर ब्रन्टको तूफानी अविजित अर्धशतकको मद्दतले मुम्बई इन्डियन्सलाई वुमन्स प्रिमियर लिगको फाइनलमा पुगेको छ । ‍शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले युपी वारियर्सलाई ७३ रनले सहजै पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

अब आइतबार हुने फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । पहिले ब्याटिङ गर्दै मुम्बई इन्डियन्सले चार विकेट गुमाएर १८२ रन बनाएको थियो भने लक्ष्य पछ्याउन आएको युपीको टोली ११० रन बनाएर अलआउट भयो ।

१८३ रनको लक्ष्य पछ्याएको युपी वारियर्सको टोलीका सुरुवाती तीन ब्याट्सम्यान २१ रन नपुग्दै पभिलियन फर्किएका थिए । यूपी वारियर्सको टोली यो सुरुआती झट्काबाट कहिल्यै उठ्न सकेन।

युपीलाई सस्तोमा समेट्न वोङले ह्याट्रिकसहित ४ विकेट लिइन् । इंग्ल्याण्डकी २० वर्षीया वोङ वुमन्स प्रिमियर लिगमा ह्याट्रिक गर्ने पहिलो क्रिकेटर पनि बनेकी छन् ।

यसअघि ब्रन्टको धुँवाधार ७२ रनको मद्दतले मुम्बईले ४ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । उनलाई अमेलिया केरले २९ रन बनाउँदै राम्रो साथ दिइन् । हेली म्याथ्युजले २६ तथा यास्तिका भाटियाले २१ रन बनाइन् ।

सम्बन्धित खवर