जर्मनीलाई पराजित गर्दै नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोको नेतृत्वमा बेल्जियमले लगातार दोस्रो जीत हासिल गरेको छ । मैत्रिपूर्ण खेलमा बेल्जियम ३–२ गोलले विजयी बनेको हो । यसअघि शुक्रबार युरो २०२४ को छनोटमा बेल्जियमले स्वीडेनलाई हराएको थियो ।
पाहुना टोली बेल्जियमले पहिलो हाफको १० मिनेटभित्र नै दुई गोलको अग्रता बनाएको थियो । केभिन डी ब्रुयनाको पासमा यानिक कारास्को र रोमेलु लुकाकुले गोल गरेका थिए । पहिलो हाफको अन्त्यमा निक्लास फुलक्रुगले पेनाल्टीबाट एक गोल फर्काए ।
दोस्रो हाफको ७८ औँ मिनेटमा डी ब्रुयनाले पुनः टोलीलाई दुई गोलको अग्रता दिलाए । यो सिजन क्लब र देशका लागि उनको नवौँ गोल थियो । ८७ औँ मिनेटमा सर्जी ग्नाब्रीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।