पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय टोली तयारी गर्दै - Crazysaptahik.com

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय टोली तयारी गर्दै

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ । प्रारम्भिक टोली अहिले अभ्यासमा व्यस्त रहँदा नेपालको लक्ष्य बलियो प्रतिद्वन्द्वी विरुद्ध सुखद नतिजा निकाल्ने रहेको छ ।

नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले तयारी राम्रो रहेको बताएकी छिन् । एशिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्न लागि नेपाली टोलीले तयारीलाई तीव्रता दिएको हो ।

छनोटमा नेपाल सम्मिलित समूह सीमा प्यालेस्टाइन र अफगास्तिान रहेपनि अन्तिम सयमा नाम फिर्ता लिएपछि नेपालले एउटा मात्र प्रतिद्वन्द्वी पाएको हो । आयोजनाको जिम्मा पनि नेपालले पाएको छ । छनोटमा नेपाल समूह सी मा रहेको छ ।

नेपालमा आयोजना हुन लागेको खेलमा आउन लागेको भिएतनाम नेपालका लागि बलियो टोली भएपनि राम्रो खेल्दै सुखद् नतिजा दिलाउने लक्ष्यमा रहेको कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन् ।

यसअघि बलियो म्यानमारबिरुद्ध बराबरी खेलिसेको र घरेलु मैदानमा आयोजना हुन लागेको खेलमा नेपालको लक्ष्य जित्ने रहेको उनले बताइन् । नेपाली टोलीमा गीता राना नभएको अवस्थामा उनको अभाव खड्किने थप्दै नयाँ खेलाडीले गीताको अभावलाई पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

यस्तै पूजा रानाको पुनरागमनले पनि टोली मजबुत अवस्थामा रहेको उनले थपिन् । भारतसँगको मैत्रीपूर्ण खेलपछि क्याम्पमा नै बसेर तयारी गर्दा लक्ष्य पूरा हुने कप्तान एन्जिलाले बताइन् ।नेपालसँग प्रतिष्पर्धा गर्न लागेको भियतनाम टोली दक्षिण एशियाको सफल टोलीको रुपमा परिचित टोली हो ।

एसियाको छैठौं वरियतामा रहेको भिएतनामले १९९४ देखि नियमिति रुपमा फिफा विश्वकपमा सहभागी हुँदै आएको छ । नेपालमा आयोजना हुन लागेको खेलमा युवा खेलाडीको बाहुल्यता भएको र उनीहरुले राम्रो खेल्नेमा स्ट्राइकर सावित्रा भण्डारी विश्वस्त छन् ।

यु–२० का नयाँ खेलाडीहरु टिममा समावेश भएको र तयारी राम्रो भइरहेको भन्दै घरेलु मैदान भएकाले फाइदा हुने उनले बताइन् । बलियो भियतनाम बलियो टोली भएको भन्दै सावित्राले घरेलु समर्थकको साथ र मैदानको फाइदा उठाउँदै आफ्नो टोली जितका लागि खेल्ने बताइन् ।

कप्तान एञ्जिलाले भने जस्तै गीताको अभाव नयाँ खेलाडीले पूरा गर्ने सावित्राको विश्वास छ । भारतसँग विगतमा खेल्दै बटुलेका अनुभवलाई सदुपयोग गर्नसके बलियो टोलीविरुद्ध सुखद नतिजा निकाल्न सकिने उनले बताइन् ।

यस्तै प्रशिक्षक अनन्त राज थापाले पनि तयारी अपेक्षा भन्दा धेरै राम्रो भएको र बलियो टोलीविरुद्ध नेपाली टोलीले ऐतिहासिक खेल प्रदर्शन गर्ने बताए । भियतनाम जस्तो टोलीसँग छनोट खेल्नु नेपालका लागि राम्रो अवसर भएको र नेपाली टोलीमा भएका कमीकमजोरीलाई सुधार गर्ने मौका भिएतनामसँगको खेलबाट थाहा हुने प्रशिक्षक थापाले बताए ।

साथै बलियो टोलीविरुद्ध स्तरीय खेल देखाएर नेपाली महिला टोली पनि उदाउँदैछ भनेर प्रमाणित गर्ने अवसर भएको भन्दै टोलीले कडा मिहेनत गरेको उनले थपे । टोलीमा पूजा रानाको पुनरागम राम्रो भएको भन्दै बिहीबार अन्तिम नाम सार्वजनिक गर्ने जानकारी दिए ।

उनले यु–२० को खेलाडीहरुको प्रदर्शन निकै सन्तोष जनक भएको भन्दै राष्ट्रिय टोलीमा पनि समावेश हुँदा न्याय गर्ने विश्वास व्यक्त गरे । दुई साताको अभ्यासले समग्र टोलीमा हौसला मिलेको र यो टोलीले केही वर्षभित्र नेपालका लागि राम्रो नतिजा दिलाउने प्रशिक्षक थापाले बताए ।छनोट खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

छनोटमा नेपालले विश्वकप खेलिसकेको भियतनामसँग खेल्दैछ । नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिष्पर्धा गर्ने तालिका रहेको छ । दुवै खेल साँझ ६ बजे शुरु हुनेछ ।

छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । एन्फाले दुई खेलका टिकट दर पनि तोकेको छ । जस अन्तर्गत सामान्यतर्फ ३ सय र भीआईपीतर्फ १ हजार टिकट दर तोकिएको छ ।

सम्बन्धित खवर