बाल जागरण विद्यामन्दिरको वार्षिक उत्सव भव्य रूपमा सम्पन्न - Crazysaptahik.com

बाल जागरण विद्यामन्दिरको वार्षिक उत्सव भव्य रूपमा सम्पन्न


क्रेजी संवाददाता
पथरी।
मोरङको पथरीशनिश्चरे–४, सोमबारेमा अवस्थित बाल जागरण विद्यामन्दिरले आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा पथरीशनिश्चरे–४ का वडाध्यक्ष लोककिरण न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले संस्कृतिका विभिन्न आयाम झल्काउने नृत्य तथा गायन प्रस्तुत गरेका थिए । विशेष गरी “बेरि आए पटुकीमा“, “रुकुमैकोट“, “म पर्खेको तिम्रो आसैमा“ जस्ता गीतमा बालबालिकाको प्रस्तुतिले दर्शकको मन जित्यो ।

विद्यालयले खेल सप्ताहामा उत्कृष्ट स्थान हासिल गर्ने साथै अध्ययनमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको थियो । विद्यार्थीहरूको प्रस्तुतिले उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूको ध्यान खिचेको थियो ।

२५ औँ वार्षसक उत्सवको अवसरमा विद्यायल स्थापना गर्दा साथ र सहयोग गर्नुहुने अभिभावकहरु तथा स्थापना कालमा अध्यापन गराउनुहुने पूर्व शिक्षकहरु भवनाथ पोखरेल, गणेश दाहाल, गणेश लामिछाने, विशाल राज राई, सुवाश गौतमलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष लोककिरण न्यौपानेले विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “सिर्फ किताबी ज्ञानमा सीमित नरही बालबालिकालाई संस्कार, संस्कृति र अतिरिक्त क्रियाकलापमा समेत संलग्न गराउनु प्रशंसनीय कुरा हो । उहाँले थप्दै भन्नुभयो यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आत्मविश्वास बढाउने अवसर दिन्छ ।“

कार्यक्रमका विशिष्ट अतिथि पथरीशनिश्चरे–८ का वडाध्यक्ष नविन कार्कीले विद्यालयको प्रयासको सराहना गर्दै भन्नुभयो, “गुणस्तरीय शिक्षा मात्र होइन, अतिरिक्त गतिविधिमा समेत अग्रसर विद्यालयले समाजलाई नयाँ दिशा दिन्छ । अभिभावक र विद्यालयबीचको सहकार्य अझ सशक्त हुनुपर्छ ।“

कार्यक्रममा प्रधानाध्यापक नरबहादुर कार्की, पूर्व प्रधानाध्यापक षडराज काफ्ले, सह–प्रधानाध्यापक धु्र्व कटुवाल, विद्यालय व्यवस्थापन समिति सदस्य डिल्लीराम गौतम, सह–प्रधानाध्यापक मरिचमान लिम्बु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर