स्ववियु सभापतिमा पुनः केशर राईको आकांक्षा - Crazysaptahik.com

स्ववियु सभापतिमा पुनः केशर राईको आकांक्षा


क्रेजी संवाददाता
मोरङ।
स्ववियु निर्वाचनको माहोल देशभर तातेको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ । मोरङको पथरी बहुमुखी क्याम्पसमा पनि विभिन्न पदका लागि आकांक्षीहरूले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।

फागुन १९ गते दल दर्ताको प्रक्रिया सकिएपछि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने प्रक्रिया अघि बढेको हो । यसै क्रममा, वर्तमान स्ववियु सभापति केशर राईले पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । २०७९ चैत्र ५ गते नेपाली विद्यार्थी संघ (नेवि संघ) बाट नेतृत्व गर्दै उनले अघिल्लो कार्यकालमा सभापति पदमा जित हासिल गरेका थिए । राईले आफ्नो नेतृत्वमा क्याम्पसका विद्यार्थीहरूको हकहितका लागि विभिन्न पहल गरेको दाबी गरेका छन् । उनले स्ववियुमा पुनः नेतृत्व गर्दै दोस्रो कार्यकाल पूरा गर्न चाहेको बताएका छन् । उनका अनुसार, “विद्यार्थीहरूको हक, अधिकार र आवश्यकताहरूका लागि काम गर्दै आएको छु । आगामी कार्यकालमा अझ प्रभावकारी रूपमा विद्यार्थीका समस्या समाधान गर्न चाहन्छु ।“

तपाईंले पुनः सभापतिमा उम्मेदवारी दिने निर्णय किन गर्नुभयो ?
– पहिलो कार्यकालमा मैले विद्यार्थीका धेरै समस्याहरू समाधान गर्ने प्रयास गरेँ । अझै केही सुधार गर्न बाँकी छ, त्यसैले दोस्रो कार्यकालमा अझ प्रभावकारी काम गर्ने सोचले उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

पहिलो कार्यकालमा तपाईंले के–कस्ता उपलब्धिहरू हासिल गर्नुभयो ?
– विद्यार्थीहरूको सुविधाका लागि क्याम्पसमा पुस्तकालयलाई व्यवस्तिथ, छात्रवृत्ति व्यवस्थापन सुधार, र क्याम्पस प्रशासनसँग विद्यार्थीहितका विषयमा सफल वार्ता गरेको छु ।

दोस्रो कार्यकालमा प्रमुख एजेन्डा के हुनेछन् ?
– क्याम्पसमा शैक्षिक गुणस्तर सुधार, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग, खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्रवद्र्धन गर्ने मेरो प्राथमिकता हुनेछ । साथै, विद्यार्थीहरूका हक–अधिकार सुनिश्चित गर्न थप नीतिगत पहल गर्नेछु ।

स्ववियु निर्वाचन नजिकिँदै गर्दा पथरी बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीति थप चहलपहल बढेको छ । विभिन्न विद्यार्थी संगठनहरू आ–आफ्ना उम्मेदवार अघि सार्दै चुनावी रणनीति बनाउन व्यस्त छन् ।

सम्बन्धित खवर