सुपवले धुमधामका साथ मनायो अभिभावक दिवस - Crazysaptahik.com

सुपवले धुमधामका साथ मनायो अभिभावक दिवस


क्रेजी संवाददाता
पथरी।
मोरङको पथरी शनिश्चरे–४ मा रहेको सुपव इङ्लिस बोर्डिङ स्कुलले अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । बिहीबार स्कुल प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे–४ का वडाध्यक्ष लोककिरण न्यौपाने थिए। सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण गरिँदै दिवस मनाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष न्यौपानेले विद्यार्थीहरूमा मोबाइलको अत्यधिक प्रयोगले नकारात्मक असर पारिरहेको भन्दै अभिभावकहरूलाई सचेत रहन आग्रह गरे । “मोबाइल प्रविधिको सही प्रयोग सिकाउन सके मात्र विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन सकिन्छ,“ उनले भने। साथै, उनले सुपव स्कुलले शिक्षा मात्र नभई खेलकुद तथा अतिरिक्त गतिविधिमा समेत विद्यार्थीलाई अगाडि बढाइरहेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा स्कुलकी शिक्षिका अमृता लिम्बुले स्वागत मन्तव्य राखेकी थिइन्। नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

विद्यार्थीहरूले ‘फिर फिर पुतली’, ‘रुकुमै कोट’, ‘छैन सरम छैन लाज’, ‘म्याङ्लुङको काखमा हुर्केकी छोरी’, ‘नरिसाउ सोल्टिनी ज्यु’ जस्ता चर्चित गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको विशेष आकर्षण भने शिक्षक–शिक्षिकाहरूको सामूहिक नृत्य रह्यो, जसमा ‘फूलपाती भाकेर कोलको’ गीतमा उनीहरूले प्रस्तुति दिएका थिए ।

स्कुलका प्रधानाध्यापक सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरी शनिश्चरे–७ की वडा सदस्य सपना राई, जेष्ठ नागरिक समाजका अध्यक्ष चन्द्रकुमार केसी, सगर बाल क्लबका अध्यक्ष रोचक परियार, समाजसेवी जहरमान लिम्बु, अन्य समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वडाध्यक्ष न्यौपानेले स्कुल परिवारलाई बधाई दिँदै भने, “यस किसिमका कार्यक्रमहरूले विद्यार्थीको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूको प्रतिभा उजागर गर्न मद्दत पु¥याउँछ । सुपव स्कुलले शिक्षाको स्तर उकास्न गरेको प्रयास सराहनीय छ ।“

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.