क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा सहिद रत्नकुमार बान्तवा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता र ५ औं मिस्टर काठमाडौं प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट–२०८१ हुनेभएको छ ।
आयोजक फ्रेन्डसिप चेस क्लब पथरी शनिश्चरे–१ ले आज पथरीमा अवस्थित सिनभिलेज पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी बुद्धिचाल प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
पथरी शनिश्चरे नगरपालिकाको मुख्य आर्थिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता चैत २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ । सहिद रत्नकुमार बान्तवा रेटिङ बुद्धिचाल प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ भने प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट दुई दिन सञ्चालन हुने आयोजकका अध्यक्ष धनराज राई (अमिर) ले जानकारी गराउनुभयो ।
स्वीस लिग अनुसार खेलाइने प्रतियोगितामा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल र सिन्दिरा जोशी लगायत पूर्व च्याम्पियनहरु नविन तण्डुकार, बद्रीलाल नेपाली, राजन सुवेदी, पुरुषोत्तम चम्लागाई लगायत २ सय बढी खेलाडीहरुले सहभागिता जनाउने चिफ रेफ्री÷आरबीटर डम्बर बाछाना राईले जानकारी दिनुभयो ।
सहिद रत्नकुमार बान्वता बुद्धिचाल प्रतियोगिताका विजेताहरुले क्रमशः नगद रु. ५१ हजार, ३५ हजार, २५ हजार, २० हजार, १६ हजार, १५ हजार, १४ हजार, १३ हजार, १२ हजार, ११ हजार, १० हजार मेन प्राइज रहनेछ । यस्तैगरी प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्टका विजेताहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार, ४ हजार मेन प्राइज रहने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार स्व. प्रकाश राईको सम्झनामा हङकङ निवासी पथरीका दिल शाक्यले प्रायोजन गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा आयोजकका सचिव लोकसागर साम्बा, तेजपाल सुब्बा, टुर्नामेन्ट डाइरेक्टर रोहित सुब्बा, सदस्यहरु पवन राई, लिलमबहादुर बस्नेत, तुलसी भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
‘सृजनशील र स्वस्थ दिमागको लागि बुद्धिचाल’ भन्ने मूल नाराका साथ आयोजकले पहिलो संस्करण २०७५, दोस्रो संस्करण २०७९ र तेस्रो संस्करण २०८० वृहत् रुपमा सञ्चालन गरिसकेको छ ।