क्रेजी साप्ताहिक
पथरी । लकडाउनको समयमा मानिसहरु घरघरमा नै बसिरहेको बेला शुक्रबार (बैशाख ५ गते) मोरङको पथरीमा वन ऐन विपरित तीन वटा सालको रुख कटान गरिएको थियो । रुख कटान भएको क्षेत्र धिमाल समुदायले सांस्कृतिक स्थलको रुपमा प्रयोग गर्दै आएको छ ।
यस्तै झन्डै दुई महिनाअघि पथरीकै तमु बौद्ध गुम्बामा भएको चार वटा रुख पनि यसैगरी ढालिएको थियो । गुम्बाको सो रुखहरु काटिएको सूचना करिब दुई महिनापछि मात्र वन कर्मचारीले थाहा पाएर वैशाख ८ गते मात्र लगत उठाएको छ ।
ती रुखहरु ढालिएको बारेमा डिभिजन वन कार्यालय मोरङले महोमद अलाउदिनलाई अनुसन्धान अधिकृत तोकेको छ । उनी सब डिभिजन वन कार्यालय पथरीको प्रमुख हुन् । अवैध रुख ढालिएको बारेमा अनुसन्धान सुरु भएकोले गैरकानुनी कार्यमा संलग्न कसैलाई पनि नछोडिने डिभिजन वन कार्यालय मोरङको प्रमुख डीएफओ विशाल घिमिरेले जानकारी दिए ।
ऐन, नियम विपरित कार्य गर्नु नै अपराध हो । अनुसन्धान अधिकृत तोकेसँगै रुख काट्ने कार्यमा संलग्न व्यक्तिहरुको अनुसन्धान सुरु भएको छ । कानून विपरित रुपमा रुख कटानमा संलग्न केहीको पहिचान भएको अनुसन्धान अधिकृत महोमद अलाउदिनले जानकारी दिए ।
कांग्रेस र नेकपाको ध्यानाकर्षण पत्र र प्रेस विज्ञप्ति :-
दिउँसै रुख ढालेको बारेमा नेपाली कांग्रेस नगर समितिले वैशाख ७ गते ध्यानाआकर्षण गराउँदै पथरी शनिश्चरे नगरको प्रमुख दिलिपकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन–पत्रको तेस्रो नम्बरमा लाकडाउनको मौका छोपी १ नम्बर वडाअध्यक्ष बाबुराम एङ्देनको निर्देशनमा रुख ढालेको कुरा उल्लेख छ ।
कांग्रेसले पथरी उद्योग वाणिज्य संघको अध्यक्ष दीपक बस्नेतले विश्वहाङ राइस मिलको मजदुर लक्ष्मी मण्डललाई गरेको दुव्र्यवहार र राहत वितरणमा विभेद गरेको भन्दै ध्यानाआकर्षण गराएको हो । ज्ञापन–पत्र बुझाउन नगरको कार्यवाहक सभापति ईश्वर थापा, सचिव दुर्गा भट्टराई लगायत पथरी शनिशचरे नगरपालिका पुगेका थिए ।
यस्तैगरी कांग्रेसले ध्यानाआकर्षण पत्रमा वडाअध्यक्ष बाबुराम एङ्देनको निर्देशनमा रुख ढालेको उल्लेख गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १ नम्बर वडा समितिको संयोजक भीमकुमार राई र सचिव युवराज चौलागाईंले वैशाख ९ गते प्रेस विज्ञप्ति प्रकाशन गरी कांग्रेसले तथ्य नबुझी नेकपाको स्थानीय नेता एवं वडा नं १ वडाअध्यक्ष बाबुराम ऐङदेनमाथि लाञ्छना लगाएको जनाएको छ ।
पार्टी र नेतृत्वको दुस्प्रचार गर्ने मनसायका साथ विषयलाई उछालिएको भन्दै ध्यान खिँचेको बताइएको छ । कोरोना भाइरसको विरुद्ध अहोरात्र खटिरहेको बेला निरुत्साहित गर्ने मनसायले कांग्रेस लागेको भन्दै यो बेला राजनीतिक प्रतिशोध नसाँध्न नेकपा वडा समितिको विज्ञप्तिमा उल्लेख छ ।
अवैध रुपमा ढालिएको रुखको प्रकृति र प्रक्रिया :-
धिमाल जातीय विकास केन्द्रले प्रयोग गर्दै आएको क्षेत्रभित्र रहेको रुखहरू धेरै वर्षअघि सुकेका थिए । रुखको पश्चिममा घर टहरामा पसलहरु छन् । सुकेको हुनाले हाँगा झरेर र मक्किएको रुख भाँचिएको वा उखलिएर ढलेको अवस्थामा जनधनको क्षति हुने अवस्था थियो ।
तमु बौद्ध गुम्बाको दक्षिणमा सुन्दर (सुकुम्बासी) बस्ती छ । यहाँको पनि अवस्था उस्तै हो । यी दुबै स्थानको रुख ढाल्न निक्कै वर्ष अघिदेखि वन कार्यालयमा पटक पटक निवेदन दिइँदै आएको थियो । सुखेको रुखबाट आउन सक्ने जोखिमबारे जानकारी गराउँदै सम्बन्धित संस्थाको साथै स्थानीय जनताले हस्ताक्षर संकलन गरी सामूहिक निवेदन समेत दिँदै आएका थिए ।
राष्ट्रिय वनको रुख ढाल्न संघीय मन्त्रिपरिषदकै निर्णय हुनुपर्ने कानुनी प्रक्रिया भएकोले मन्त्रिपरिषदले महत्वको विषय नठान्ने भएकोले यस्ता रुख ढाल्ने आदेश आउने गरेका छैनन् । सुकेका रुख नजिकै रहेका घरटहरा वनकै क्षेत्रमा पर्ने र वनमा घरटहरा बनाउनु गैरकानुनी कार्य भएकोले त्यस्ता रुखहरु ढाल्न आदेश नआउने वा निर्णय नहुने गरेको सहायक वन अधिकृत महोमद अलाउदिनको भनाइ छ ।